September 22, 2017 Sujeev Shakya

ग्लोबल नेपाली

बैंककको एमबीके मार्केट, खावसान मार्केट वा प्रातुनाम मार्केटतिर जाँदा नेपाली गीत र नेपाली भाषा सुनेर सबै अलिक स्तब्ध हुने गरेको देखिन्छ । भारतीय र नेपाली पर्यटकले मनपराउने बजारहरूमा नेपाली वा हिन्दी बोलेर थाई भाषा पनि बोल्ने, बुझ्ने र बोल्नेसँग किनमेल गर्न कति सजिलो भनेर धेरैले भन्छन् ।

मेरा थाई साथीहरू प्रश्न गर्छन्– के नेपालीहरू संसारभरि व्यापार गरेर हिँड्ने जाति हो ? कम्बोडियाको राजधानी नोमपेनमा प्राय: सबै इन्डियन रेस्टुरेन्टहरू नेपालीहरूकै छ । कम्बोडियन साथीहरूले मलाई सोधे– नेपालीहरू रेस्टुरेन्ट व्यवसायी हुन् र ? अमेरिका र युरोपमा इन्डियन रेस्टुरेन्ट भन्ने बित्तिकै नेपालीले चलाएको वा नेपाली कामदारहरूको बाहुल्य रहेको पाइन्छ ।

अफ्रिकाको रुवान्डा र अन्य अफ्रिकी देशहरूमा पनि संयुक्त राष्ट्र संघसँग आबद्ध संस्थाहरूमा नेपालीहरूको बाहुल्यले गर्दा नेपालीहरूको चिन्हारी नै अर्को छ । जिम्बाब्वेमा त राष्ट्र संघको प्रमुख नै नेपाली छन् । हामी आफैं पनि रुवान्डामा पाँच वर्षदेखि काम गर्दैछौं र यो नेपाली चिन्हारीले हामीलाई धेरै आदर–सत्कार मिलेको छ । ‘नेपथ्य’ जस्तो नेपाली ब्यान्डले संसारका ठूलठूला सहरका ख्यातिप्राप्त ठाउँहरूमा कार्यक्रम गर्ने गर्छ । दीपक रौनियारको सिनेमा न्युयोर्कका हलहरूमा हेर्न सकिन्छ । नेपाली अनुहारहरू संसारका बिभिन्न टेलिभिजन स्क्रिनमा देख्न सकिन्छ भने नेपालीहरू अब भारतका पुस्तक प्रकाशक गृहहरूमा सम्पादकका रूपमा भेटिन्छन् । भारतीय फिल्म र टिभीदेखि अमेरिकाका रंगमञ्चमा नेपालीहरू देखिन थालेका छन् । २०–२५ वर्षअघि नेपालीहरूको विदेशमा पहिचान गोर्खा सैनिकको रूपमा प्रचलित थियो भने अहिले विविध पहिचान बोकेर नेपालीहरू संसारमा चिनिन थालेका छन् । तर प्रश्न छ, कसरी यो पहिचानलाई समेटेर विश्वमा नेपाली चिन्हारीको काँचुली फेर्ने ?

नयाँ सोच, नयाँ पहिचान १५ वर्षअघि संसारमा चार–पाँच लाख नेपालीहरूको हितको निम्ति खोलिएको संस्था ‘एनआरएनए’ हाँकिरहेका हालका अध्यक्ष शेष घलेले नेपालीहरूको पहिचान परिवर्तनका लागि ‘भिजन–२०२०’ नाम दिएर अभियान थालेका छन् । नेपालीहरूको चिन्हारीमा परिवर्तन ल्याउने हो भने नयाँ पुस्तालाई समेट्न जरुरी छ । हामी नेपालीले अरू मुलुकबाट सिकेर स्वदेशमै सकारात्मक परिवर्तन ल्याउनुको साटो नेपालमै उन्मूलन गर्नुपर्ने गलत बानी र आचार–व्यवहारसमेत विदेशतिर लगेका छौं । गतवर्ष एनआरएनएको अमेरिका, न्युजर्सीमा भएको कार्यक्रममा आसन ग्रहणको ताँती, नेपालमा जस्तै समयको वास्तै नगर्ने प्रवृत्ति, नेपालका राजनीतिक नेताहरू लगेर राजनीतिक भाषण चुट्न लगाउने, एमाले, माओवादी र कांग्रेसको रेखाले विभाजित समाजको झल्को देखाउने जस्ता घटनाहरू देख्दा म त स्तब्धै भएँ । अमेरिकालाई आफ्नो कर्मभूमि मानेर बसेका मेरा एक मित्रले सोधे, ‘मेरा छोराछोरीले यस्तोमा आएर के गर्ने ? के सिक्ने ?’

नेपालीहरूको जनसंख्या नेपाल बाहिर द्रुतगतिले बढ्दैछ । कतारमा नेपाली जनसंख्या भुटानको कुल जनसंख्याभन्दा बढी भइसक्यो । नेपाल बाहिर रहेका ४०–५० लाख नेपालीहरू अब दुई भागमा विभाजित छन् । एउटा सानो समूह, जो नेपालमा आफ्नो राजनीतिक भविष्य कहिल्यै साकार हुन नसकेकाले विदेश पुगेर त्यहीं नेपाली संस्थाहरू खोलेर पुरानो धोको पूरा गर्नेमा लागेको छ । अर्कोले चाहिँं नेपाली चिन्हारीलाई घरमै थन्काई परिवारजन र साथीहरूको सानो समूहबीच आफ्नो चिन्हारी साँचेर राख्ने गर्दैछ । अमेरिकामा हुर्केर त्यहीं एउटा ठूलो बैंकको ठूलो पदमा रहेका व्यक्तिले मलाई भने, ‘दाइ, म एनआरएनएको वेबसाइटमा जान्छु, सबै नेपालीमा छ, केही बुझ्दिन । मलाई नेपाल र नेपालीहरूका निम्ति केही गर्न मन छ, तर मलाई न लामो भाषण हुने कार्यक्रममा जान मन छ, नत चुनावको राजनीतिमा होमिन ।’

अबको नेपाली पहिचान भनेको यी ‘ग्लोबल नेपाली’हरू हुन्, जसले संसारको कुनाकाप्चामा गएर हामी पनि विश्वको सबभन्दा श्रेष्ठ काम, पद वा व्यापारमा प्रतिस्पर्धा गर्न सक्छौं भन्ने सामथ्र्य राख्छन् र आफू नेपाली भएकोमा गौरव पनि गर्छन् । अब नेपालीहरूको यो चिन्हारी संसारसामु पेस गर्ने नयाँ अभियानकर्ताहरूको खाँचो छ । घाँटीमा माला, अनुहारमा अबिर, छातीमा ब्याज र आसन ग्रहणको फितुरो गर्नेहरूले सायद यो गर्न सक्दैनन् ।

नेपाल फर्कनुपर्ने बेला सहकर्मी राजेश श्रेष्ठले मलाई सोच्न बाध्य पार्ने कुरा राख्यो– हामी नेपालीहरूको आफ्नो राष्ट्रियता झल्काउने एउटा दिन पनि भएन । हुन पनि हो, हामी रुवान्डामा हुँदा होस् वा कम्बोडियामा वा अमेरिकामा, सोच्छौं– अन्य मुलुकहरूले झैं हामीले पनि नेपालको राष्ट्रिय दिवस भनेर, मानिसहरू बोलाएर, रातो चन्द्र फहराएर, सयौं थुंँगा बजाएर, नेपाली परिकार पस्केर आफ्नो देशलाई चिनाउन पाए कस्तो राम्रो हुन्थ्यो । तर राजेशले भनेझैं त्यो कुन दिनलाई मान्ने– फागुन ७ ? गणतन्त्र दिवस ? वा संविधान दिवस ? यी तीनमध्ये एक वा अर्कै कुनै दिनलाई नेपालको ‘नेसनल डे’ वा राष्ट्रिय दिवस बनाउनुपर्‍यो, जुन दिनलाई संसारभरिका नेपालीहरूका निम्ति आफ्नो राष्ट्रियता र पहिचान सम्झने/सम्झाउने अवसर बनोस् ।

कोलकातामा पढ्दाताका सन् १९८७ को साफ गेम्समा नेताजी इन्डोर स्टेडियममा नेपाली खेलाडीहरूलाई हाम्रो राष्ट्रिय झण्डा लहराएर सानो समूह भए पनि ‘रातो चन्द्र र सूर्य…’ गाएर त्यस बखतको युवा रगत तातेको झझल्को अहिले पनि आउँछ । हामीलाई राष्ट्रिय चिन्हारीको खाँचो छ । संसारभरिका नेपालीहरूलाई जोड्ने सञ्जालको खाँचो छ । फेसबुक र अन्य सामाजिक सञ्जालमा गालीगलौज, नकारात्मक सन्देशहरूको बाढीभन्दा सकारात्मक नेपाल निर्माण गर्नसक्ने सोचहरूको खाँचो छ ।

संसारमा त्यस्तो मुलुक विरलै होला, जहाँ विदेशमा बसोबास गरेर फर्केकाले देशलाई अघि बढाउन मद्दत नगरेका हुन् । हामीकहाँ २०४६ पछि विदेशमा बस्न सक्ने र बसिसकेकाहरू नेपाललाई नै कर्मथलो बनाएर फर्के । र धेरै क्षेत्रमा परिवर्तन ल्याए– स्वास्थ्य, मिडिया, शिक्षा, प्रविधि आदिमा । अहिले नेपालको पछिल्लो संक्रमणकालको अन्त्य हुनलागेको छ । विदेशमा दक्षता हासिल गरेका नेपालीहरू अब फेरि स्वदेश फर्केर इतिहासको नयाँ अध्याय लेख्न तयार हुनुपर्छ ।

 


Leave a Reply