अबको नयाँ विश्वमा लगानी, पर्यटन, रोजगारी, विकासजस्ता क्षेत्रमा कोरोना व्यवस्थापन राम्ररी गर्ने देशहरूले नेतृत्व र प्रभुत्व जमाउनेछन् । रुवान्डा तीमध्ये एक हुनेछ ।
दुबईबाट रुवान्डाको किगाली विमानस्थलमा उत्रिँदा पाँच महिनासम्म पाटनको घरमा थुनिनुपर्दाको उकुसमुकुसबाट मुक्ति पाएको भान भयो । रुवान्डा आउन सजिलो छ, केही बुँदा रहेका फारमहरू अनलाइन भर्दा हुन्छ (नेपालमा जस्तो बत्तीस गुण र लक्षण भर्नुपर्दैन) ।
विमानस्थल कर्मचारीले मलाई कोरोना नेगेटिभ भएको सर्टिफिकेट हेरे, रोबोटले तापक्रम अनुगमन गर्यो । अनि सीधै लिस्टमा भएको, आफूले बुक गरेको होटलतिर गएँ । होटलमा पनि कोरोना टेस्ट गर्नुपर्ने रहेछ, त्यसपछि चौबीस घण्टा क्वारेन्टिन गर्नुपर्ने । होटलमा गरिएको टेस्टको रिजल्ट एक दिनपछि आयो र म लागेँ आफ्नो अपार्टमेन्टतिर ।
अगस्टको अन्तमा राति सात बजेदेखि बिहान पाँच बजेसम्म लाग्ने कर्फ्यु अहिले राति दस बजे मात्र सुरु हुन्छ । म एक महिनाअघि आउँदा दिनको एक सय हाराहारी केस भेटिन्थे भने, अहिले आएर दैनिक तीन–चार वटामा झरिसकेको छ । अन्तरजिल्ला यातायात पनि सुरु भएको छ र विवाह जस्ता कार्यक्रम पनि बिस्तारै खुकुलो पार्दै लगिएको छ । अगस्टदेखि फाट्टफुट्ट पर्यटक पनि आउन थालेका छन् । नोभेम्बरदेखि त स्कुलहरू नै खुल्ने भएका छन् । गत मे १७ तारिख, संक्रमितको संख्या रुवान्डामा २९२ हुँदा नेपालमा २९५ थियो; पाँच महिनामा नेपालमा १ लाख पुग्न लाग्दा नेपालको भन्दा आधा जनसंख्या रहेको रुवान्डा त्यसलाई ५ हजारमा सीमित राख्न सफल भएको छ ।
संसारमा एक–दुई वर्षमा कोरोना महामारीमा राम्रो व्यवस्थापन गर्ने मुलुकहरूमा लगानी र पर्यटन दुवैले फड्को मार्नेछ । डेढ करोड जनसंख्या भएको यो अफ्रिकी देशले यसमा आफ्नो पहिचान बनाउन सकेको छ । के कारण यस्तो गर्न सक्यो त रुवान्डाले भनी केलाउँदा निम्नलिखित चार पक्ष अघि आउँछन्–
पहिलो, रुवान्डामा नियम सबैलाई लागू हुन्छ । कानुन सबैलाई लाग्छ । नेपालमा कानुनले छुन नसक्ने धेरै मानिस छन् । एक दिन यहाँका राष्ट्रपतिको जनतासितको कुराकानीको एउटा प्रसंगले मलाई छक्क पार्यो । एक जनाले उनलाई सोधे, ‘तपाईंलाई नाति भएकामा बधाई । भेट्न जान मन लाग्दैन ?’ उनले जवाफमा भने, ‘मन त लाग्छ, तर ढिलो भयो भने स्टेडियममा रातभरि उभिनुपर्ला भन्ने डरले छिटछिटो घर जान्छु ।’
कर्फ्युको बेला बाहिर निस्किए पक्राउ परेर स्टेडियममा रातभरि उभिनुपर्ने नियम छ यहाँ । त्यो सुन्दा मलाई त्यस बखत हाम्रा प्रधानमन्त्रीले आफ्नो मास्क निकाली माइक छोपिदिएको भाइरल भिडियोको सम्झना आएको थियो । रुवान्डेली जनतामा कानुन सबैलाई समान लाग्छ भन्ने विश्वास छ । मास्क राम्रोसँग नलगाए २५० रुपैयाँ, भौतिक दूरी कायम नगरे १,००० रुपैयाँ, घरमा मानिस बोलाएर भोजभतेर गरे १ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । सबैतिर नियम छ र मानिसहरूले त्यसलाई मान्छन् पनि । बारहरू सबै बन्द छन् । रेस्टुरेन्टले मदिरा बेच्न पाउने र के खाना कति अर्डर गरेपछि कति वटासम्म बियर किन्न पाइने भनेर पनि तोकिएको छ । सार्वजनिक यातायातको बस होस् वा निजी गाडी, कति जना कसरी बस्नुपर्छ भन्ने नियम छ र मानिसहरू त्यसलाई मान्छन् । मोटरसाइकल ट्याक्सीमा स्यानिटाइजर राख्नुपर्ने र पछाडि बस्नेले हेल्मेट लाउनैपर्ने हुनाले आआफ्ना टाउका छोप्न कपडा बोक्ने गर्छन् । दुर्गम गाउँहरूमा जाँदा, हटिया छिर्नुअघि हात धुनैपर्छ । मास्क लगाउनैपर्छ । मास्क आफ्नो वडामा लिन जान सकिन्छ र कपडाको मास्क कसरी धोएर प्रयोग गर्ने भनेर सिकाइन्छ । गरिब र विपन्नहरूले पनि नियम पालना गर्न सक्ने वातावरण बनाइएको छ । सबैले सबैलाई यो नयाँ जीवनशैली अपनाउन प्रेरित गर्ने गर्छन् । मास्क लगाएर चारघण्टे तालिम चलाउँदा कस्तो हुँदो रहेछ भन्ने अनुभव त मैले नै गर्न पाएँ ।
दोस्रो, रुवान्डामा सूचना प्रवाह दह्रो छ । गाउँका गरिब र विपन्नले पनि कोरोना संक्रमणबारे बुझेका छन् र के गर्नुपर्छ भन्ने तिनलाई थाहा छ । सामाजिक वा भौतिक दूरीको पालनालाई एकदम कडाइसँग लागू गरिएको छ, सबैले मानिरहेका पनि छन् । राष्ट्रिय टेलिभिजन, रेडियोसहित सबै सञ्चार माध्यमले आमजनताले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर घोकाएको घोकायै छन् । यहाँ सरकारले जारी गरेका सूचनाहरू सरल र बुझ्न सकिने खालका छन् । नेपालमा जस्तो जनतालाई अलमल पारेर रमाउने सरकारी तन्त्र छैन । सरल चित्रहरूसहित विभिन्न माध्यमबाट कोरोनाबारे जनचेतना फैलाइरहिएकै छ ।
यहाँका दातृ संस्थाहरू पनि सरकारको निर्देशनअनुसार चल्ने गर्छन् । निजी क्षेत्रलाई कसरी आफ्नो व्यवसाय चलाउनुपर्छ भनेर सरल रूपमा निर्देशनहरू जारी गरिएको छ । ससाना पसलअघि स्यानिटाइजर वा हात धुने ठाउँ राख्नैपर्ने, मास्क लगाउनैपर्ने र निजी व्यवसायीले पनि कुरा सुन्नैपर्ने नियम छ । नेपालमा जस्तो नेताहरूसँग खिचेको फोटो झुन्ड्याएर पहुँच भएकालाई कोरोना नलाग्ने जस्तो गर्दैनन् यहाँका पहुँचवालाले । नेपालमा एड्स रोकथामका निम्ति काम गरेका विकासविद् मोहन मानन्धर भन्ने गर्नुहुन्छ— हाम्रा ७५३ स्थानीय निकायहरूमध्ये अधिकांश आफ्नो फोटो/भिडियो वा नेताहरूको फोटो/भिडियोको पछि लागेर बरबाद भए । यसो खाने ठाउँ छ भने चासो लिने, नभए पशुपतिनाथलाई छाडिदिने !
तेस्रो, रुवान्डा संसारसामु आफ्नो पहिचान अझ बढाउन चाहन्छ । उसलाई संसारले हेरिरहेको भान हुन्छ । यो मुलुकलाई पूर्वी अफ्रिकामा मात्र नभएर सम्पूर्ण अफ्रिका महाद्वीपमा एसियामा सिंगापुरले झैँ तहल्का मच्चाउनु छ । यहाँ भेट हुने युरोपेली र अमेरिकीहरू तीनछक परेका छन् । रुवान्डाले तीनछक पार्न खोजेकै पनि हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमार्फत उसले आफ्नो सफलताको कथा फैलाउने गरेको छ । हामीले पनि परामर्शदाता कम्पनीहरूलाई ल्याएर महामारीपछिको समयमा पर्यटनमा होस् वा लगानीमा, शिक्षामा होस् वा स्वास्थ्यमा कसरी संसारमा नेतृत्व लिने भनी फलदायी छलफल चलाउन सक्थ्यौँ । रुवान्डाले विज्ञहरूलाई बोलाएर सल्लाह गरेको गर्यै छ । नेपालमा भने ट्वीटमार्फत प्रधानमन्त्रीलाई अन्तरक्रियामा आउन अनुरोध गर्दा दुई–तीन पटक विज्ञहरूको जमघट गरिए पनि उनीहरूका सुझावलाई बाथरुममा फ्लस गरियो ।
चौथो, रुवान्डाबाट लिनुपर्ने सबभन्दा ठूलो सिकाइ भनेकै आफ्नो देशप्रति गौरवबोध हो । यो कुरो मैले नेपालका निम्ति भनेर आफ्नो किताब ‘अर्थात् परिवर्तन’ मा अन्तिम सूत्रका रूपमा राखेको छु । छाडा जनताले नियम तोड्ने गर्छन् र तिनले आफूहरूमध्ये अलिक बढी छाडालाई नेता बनाउने गर्छन् । तिनैले फेरि नेपाललाई कहिल्यै गाली गर्न पनि छोड्दैनन् । समस्या देशको होइन, देशवासीहरूको हो । वर्षमा १० लाखले डीभी भर्ने गर्छन्, याने उनीहरू देश त्याग्न तयार छन् । नेपालमा मास्क नलगाउने, सामाजिक दूरी नमान्ने व्यक्तिहरूले नै भोलि डीभी पाएर उडिसकेपछि नेपाल यस्तो नेपाल त्यस्तो भन्दै गालीगलौज गर्ने गर्छन् । देश त्याग्न तत्परहरूले नेपालप्रति गौरव गर्न खोज्दैनन् । सायद यो महामारी नेपालमा यसरी फैलेको पनि देशप्रति माया नभएकाहरूकै कारण होला । देशको छवि संसारमा कस्तो होला भन्ने अनुभूति नभएरै होला ।
रुवान्डामा सबैजसो नागरिकमा आफ्नो देशको छविमा आँच आउला कि भन्ने डर छ; संक्रमितको संख्या बढ्यो भने संसारले के भन्ला भन्ने पीर छ; पर्यटक र लगानीकर्ता नआउलान् कि भन्ने पीर छ; आफ्नो देशले अफ्रिकामा स्थापित गर्न लागेको वर्चस्वमा ठेस पुग्ला कि भन्ने सुर्ता छ । सरकारी निकायदेखि जनतासम्मले आफ्नो राष्ट्रियतासँग जोडेका छन् कोरोना संक्रमणलाई । संसारमा सबै थोक अनित्य छ, कोरोना संक्रमणको पनि अन्त हुन्छ नै । संक्रमण अव्यवस्थापन र राजनीतिक अदूरदर्शिताका कारण नेपालको मात्र होइन, धेरै शक्तिशाली देशकै पनि पहिचान डगमगायो । अबको नयाँ विश्वमा लगानी, पर्यटन, रोजगारी, विकासका कुरामा कोरोना व्यवस्थापन राम्ररी गर्ने देशहरूले नेतृत्व र प्रभुत्व जमाउनेछन् । रुवान्डा तीमध्ये एक हुनेछ ।