नम्र स्वभावका, जहिले पनि चिटिक्क देखिने, सबैलाई आदर गर्ने उद्योगपति थिए– प्रभावकर शमशेर राणा । उनीसंँग मेरो करिब ३० वर्षको यात्रा विविध संस्मरण र सम्झनाले भरिएका छन् । ग्लोबल नेपाली : मेरो उनीसँगको प्रथम भेट म सोल्टी होटलमा तालिम लिन जाँदा भएको थियो । उनीसँगको मेरो गहकिलो भेटचाहिँ चार्टर्ड एकाउन्टेन्ट बनेर बधाई लिँदाको थियो ।
उनले प्रोत्साहनसाथै नेपालमा केही गर्न आह्वान पनि गरेका थिए । त्यसबेलासम्म नेपालमा काम गर्ने कि अन्य देशबाट प्राप्त अवसर अँगाल्ने भन्ने दोधारमा थिएँ म । उनीसित जति नजिकिंँदै गएँ, त्यति ग्लोबल नेपालीका रूपमा यहीं बसेर गर्न सक्छु भन्ने विश्वास बलियो हुँदै गयो ।
सायद उनको समयमा नेपालमा धेरै कम व्यक्ति थिए, जसले दिल्ली, लन्डन र वासिङगटन डिसीमा काठमाडौंमा झैं आफ्नो नेटवर्क बनाएर बसे । बेस्मेन्टमा रहेका अफिसका कोठाहरूलाई उनले विश्वको महत्त्वपूर्ण कोठा बनाइसकेका थिए । जहाँ संसारका बिभिन्न ठाउँबाट नाम चलेका व्यक्तिहरू आउँथे र भलाकुसरी गरिन्थ्यो । सत्ता दाउपेचका कुरासम्म हुन्थे । नेपालमै बसेर ग्लोबल हुन सकिन्छ भनी प्रभाकरले सिकाए ।
व्यापारिक शैली ः उनी व्यापारी बनेर जन्मेका पनि होइनन्, तर व्यापारसँंग जोडिँदै गएपछि लगानीकर्ता बनेका हुन् । उनी आफ्नो ‘करिअर’ परराष्ट्र मन्त्रालयबाट सुरु गरेको सुनाउँथे । तर त्यसलाई छाडेर पछि सोल्टी होटलमा म्यानेजर भए । जागिरे भएको २० वर्षपछि लगानीको अवसर आउन थाल्यो र उनी त्यसैका लगानीकर्ता बने । व्यस्थापनमा रहँदा उनले व्यवस्थापकको भूमिका निर्वाह गरे भने लगानीकर्ता बनेपछि लगानीकर्ताको रूपमा बोर्डको भूमिकामा आफूलाई सीमित राखे ।
व्यवसाय प्रोफेसनलहरूलाई चलाउन दिए । व्यवस्थापनमा अब्बल सहयात्रीहरू चाहिने कुरामा जोड दिए । होटल व्यवसायमा उनले ओबराय र पछि इन्टरकन्टिनेन्टलसँंग साँठगाँठ गरे । जलविद्युतमा अमेरिकी कम्पनीसंँग साझेदारी गरे । स्वमित्व र व्यवस्थापनलाई छुट्टै रूपमा हेरे । व्यवस्थापकहरूलाई उनी निकै छुट दिन्थे ।
सायद नेपालमा व्यापारी घरानाहरूले प्रोफेसनल व्यवस्थापकहरूलाई जिम्मा दिएर उद्योग, व्यापार चलाउने देखासिखी भएको भए सिन्डिकेटको आडमा विदेशी लगानीको विरोधमा उत्रेर व्यवसाय गर्नुपर्ने अवस्था आउने थिएन । उनी मसँग सोधिरहन्थे, ‘हाम्रो कर्पोरेट कल्चर देखासिखी गरेर होटल, हाइड्रो, गाडी डिलर गर्नेहरू किन अघि नबढेका होलान् ?’ त्यो प्रश्नको जवाफम खोजिरहेछु ।
नेतृत्व र मार्गदर्शक : नेतृत्वको कुरा गर्दा हामीले गुरु–चेलाको रूपमा हेर्ने गरेका छौं न कि मेन्टर र मेन्टी । सायद यो अवधारणामा विश्वास नगर्ने भएर होला, हामीले यसको नेपाली शब्दहरू पनि बनाएनौं ।
मेरा निम्ति प्रभाकर राणा जागिर दिने व्यक्तिमात्र थिएनन्, मार्गदर्शक थिए । सोल्टीमा पदका भर्याङ चढ्दै जाँदा जीवनका अनेक खुड्किलामा उनले प्रभाव पारे । समयको महत्त्व बुझाए । भेटघाट ठिक समयमा सुरु हुने प्रथा बसाले । ९ बजेको बैठक हो भने ८ः५७ सम्ममा बसिसक्नुपर्ने सिकाए । डायरीमा ६ महिना, ९ महिनापछिका कार्यक्रमको समय नोट गर्न सिकेँ । यात्रा गर्दा लबीमा ठ्याक्क समयमा भेटेर बैठकमा जान सिकेँ । आफूले गरेका कामको प्रतिक्रियामा उनी विश्वास राख्थे ।
त्याग्न सक्ने क्षमता : भनिन्छ, मानिसलाई त्याग्न सक्ने क्षमता आउन धेरै गाह्रो पर्छ । तर उनीबाट सबैले सिक्नपर्ने भनेकै त्याग्ने कसरी भन्ने हो । धेरै व्यापारिक घराना, राजनीतिक र अन्य संस्थामा एक पिढीकाले अर्को पिढीलाई नेतृत्व हस्तान्तरण नगर्दा समस्या धेरै आएका छन् । उनी भने कार्यभार त्यागेपछि कहिलै दख्खल दिन फर्कंदैनथे । पेसा, व्यवसाय छोरा सिद्धार्थलाई सुम्पेपछि उनले आफूलाई लागेका विषयमा समय बिताए । छोरालाई भार थाम्न सक्ने भएपछि मात्र नेतृत्व हस्तान्तरण गरे ।
सुशासन र पारदर्शिता ः सुशासन र पारदर्शिताको कुरा आउने बित्तिकै हामीलाई दातृ संस्थाका कुनै प्रतिवेदनको सम्झना हुन्छ । किनकि हामीले यी दुई शब्दलाई धर्ममा मोक्षजस्तो कुरा गर्न सकिने, तर प्राप्त गर्न नसकिने कुराको रूपमा सोचेका छौं । तर उनले नेपालमै बसेर यी दुई शब्दलाई अँगाले ।
उनी भन्थे, ‘कर बढी छ, लगाएको तरिका गलत छ । सरकारले त्यो पैसाको दुरुपयोग गर्न सक्छ भनेर कर तिर्दिन भन्न मिल्दैन ।’ कानुनी रूपमा गलत छ भने कानुनी रूपमै लड्नुपर्ने उनको सोच थियो । तर कर तिर्दिन भन्न मिल्दैन भन्थे । त्यही सिद्धान्त अनुरुप उनले स्थापना गरेका कम्पनीहरू अहिले पनि वर्षेनि कर विभागबाट पुरस्कृत हुन्छन् ।
प्रभाकरसंँगै एउटा युगको अन्त्य भयो । उनका बारे कसैले पुस्तक लेख्लान् । उनको जीवनबाट हामीले सिक्ने कुरा धेरै छन् ।
https://bit.ly/2WDSrFi