June 11, 2018 Sujeev Shakya

संकुचित समाजवाद

जबसम्म गुणस्तर नहुनुलाई समाजवाद हुनुसंँग जोडिन्छ, तबसम्म आर्थिक वृद्धि र विकासको गति तीव्र गर्न गाह्रो हुनेछ ।

नेपालमा समाजवादको ठूलो चर्चा छ । संविधानमा पनि हामीले समाजवादलाई नै अँगाल्यौं । राजनीतिक भाषण, नीतिका कुरामा पनि समाजवादलाई नै अगाडि सार्ने गर्‍यौं । टन्न पैसा बनाएर बसेका व्यापारीहरूले पनि आआफ्नो सिन्डिकेटमार्फत समाजवादको डम्फु बजाउने गर्‍यो ।

समाजवाद मज्जासँंग कमाएको पैसा ढाक्न, कानुनी र सरकारी निकायका कमजोरी छोप्न, सुशासन र दक्षता मिचेर राख्न राम्रो नारा भएको छ । समाजवाद विरुद्ध उठ्ने आवाजहरूलाई राष्ट्र विरोधी, सामन्तका उपमा दिएर चुप लगाइएका छन् । के समाजवादको यस्तो संकुचित सोचले आर्थिक र विकासका महत्त्वाकांक्षी लक्ष्यहरू पूरा गर्न सकिएला ?

भृकुटीमण्डप– समाजवादको प्रतिविम्ब
काठमाडौं सहरको बीचमा भृकुटीमण्डप छ । गत ३० वर्षमा हामीले कस्तो प्रगति हासिल गर्‍यौं भनेर यो ठाउँले देखाउने गर्छ । सिंहदरबारको पल्लोपट्टि रहेको ठाउँबाट दिनहँु नेता, कर्मचारी, व्यापारी, विद्यार्थी आदि पास गर्ने गर्छन् । त्यो ठाउँ फोहोर, दुर्गन्ध, अव्यवस्था झल्काउने राम्रो उदाहारण भइसक्यो । खुलामञ्चलाई कब्जा गर्न पसलहरूलाई जबर्जस्ती भृकुटीमण्डपमा स्थानान्तरण गरियो । हामीले त्यसको विरोध गर्दा सामन्ती भएको र विपन्नहरूप्रति सहानुभूति नराखेको आरोप पाइयो । राजनीतिक संरक्षणमार्फत गरिएको जग्गा कब्जाको समर्थनमा बोल्ने एनजीओ पनि जन्मिए र राम्रै कमाइ पनि गरे । त्यसबखत पनि समाजवादको नारा हावी थियो ।

गत दुई वर्षदेखि भृकुटीमण्डपको दक्षिणी भेगमा कुटुकुटु काम भइरहेको हेर्ने गरिरहेको थिएँ । म त्यो सिंहदरबारको फराकिलो बाटोबाट गेट कहिले निस्कन्छ भन्ने प्रतीक्षामा थिएँ । केही महिना भयो, त्यो गेट खुल्यो, अब त्यो जग्गा कब्जा कुनै दिन सिंहदरबारसम्म फुटपाथतिर फैलिनेछ । काठमाडौंको मुटुमा रहेको यो ठाउँ त समाजवादको नाममा कब्जा भइरहेको छ भने अरू ठाउँको के हाल होला । नेपालमा गरिबीका नाममा राजनीति गरेर भएको स्रोत नचलाई मगन्ते भएर हिँड्ने बानी बसाल्यो, त्यसले नेपाललाई निम्न स्तरको मनसाय बोकेको मुलुकको चिनारी दिन सफल भयो ।

भृकुटीमण्डपमा रहेको प्रदर्शनीस्थल दुई दशकअघि समय–सापेक्ष देखिन्थ्यो । अहिले एउटा घिनलाग्दो स्थलमा परिणत भएको छ । अस्ति ‘अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’का बेला पानी पर्दा त्यो ठाउँ कस्तो हुँदोरहेछ, देखियो । नेपालका निजी क्षेत्रका ठूलठूला कार्यक्रम त्यहीँ दंग परेर मन्त्रीहरूले उद्घाटन गरिरहेका हुन्छन् ।

हामीले सफा हुने कुरा गर्‍यो वा केही राम्रो गर्ने भन्यो भने ‘पुँजीवाद’, ‘सामन्ती’को उपमा पाइन्छ । चिटिक्क परेको, सफा र राम्ररी व्यवस्थित गरिएको चिज हामीलाई असह्य हुन्छ । केही वर्षअघि काठमाडौंका सफा लुगा लगाएकाहरूलाई ‘सुकिला–मुकिला’ उपाधि नेताहरूले दिएका थिए । सफा, सभ्य देखियो भने हाम्रो पहिचान गुम्छ जस्तो गर्छौं । त्यसलाई पुँजीवादको प्रतीक मान्छौं । यो हाम्रो साँघुरो समाजवादको प्रतीक हो । ठूलठूला बैंक, संस्थान र निजी क्षेत्रका संस्थाहरूदेखि विकासे संस्थानहरूसम्ममा यो साँघुरो सोचका प्रतीकहरू थुप्रै पाउँछाैं ।

सभ्य हुनु समाजवाद विरोधी ?
ट्राफिक, पार्किङ, विमानस्थल वा बसपार्क अस्तव्यस्त छन् । बाटोमा ‘नो हर्न’ नियम मिच्नेको कमी छैन । यी विरुद्ध आवाज उठायो भने ‘त्यस्तो व्यवस्था चाहिने हो भने अमेरिका फर्क’ भन्ने जवाफ धेरैचोटी पाइयो । बसभित्र अलिक अनुशासन खोज्यो भने ट्याक्सी लिएर किन नगएको भन्ने घुर्की सुन्नुपर्छ । हामीले सभ्य व्यवहार हुनु, अनुशासित हुनु भनेको धनीहरूको पहिचान हो, समाजवादको मूल्य–मान्यता विरुद्ध हो भन्ने बुझेका छौं । हाम्रा कार्यक्रमहरू गर्दा खादा र मालाहरूले भरिएको व्यक्तिहरूको स्टेजमा धेरै देखिन्छन् । मञ्चमा भन्दा तल सहभागी कम हुने व्यवहारलाई असभ्य हुनु भन्दैनौं । अबिर दलेको आफ्नो अनुहार दंग परेर सामाजिक सञ्जाल र टिभीमा हेर्छौं । समाजमा असभ्य रूप र व्यवहारलाई हामी प्रोत्साहन दिन्छौं । किनभने सभ्य, अनुशासित हुनु समाजवादको विरोधी हुनु भन्ने हाम्रो बुझाइ छ ।

मिडियोक्रिटी 
प्राय: नेपाली गुणस्तरको चाहना गर्दैनन् र आफू पनि गुणस्तरीय समान वा सेवाको माग गर्दैनन् । ‘मिडियोक्रिटी’ (फितलो गुणस्तर) मै हामी अडेका छौं । हामीले गुणस्तरीय सामान र सेवालाई पुँजीवादको उपमा दिन्छौं । गुणस्तरीय सामान वा सेवाको माग गर्नेलाई पुँजीवादी सामन्ती भन्ने गर्छौं ।

त्यसैले विदेशी सामान वा सेवासंँग प्रतिस्पर्धा गर्नु समाजवाद विपरीत भएको र पुँजीवादलाई प्रोत्साहन गरेको भन्छौं । त्यसैले पहिले नाम चलेका पाँचतारे होटलहरू आफूलाई पार्टी प्यालेसजस्तै देख्न र त्यही प्रकारको सेवा दिनतिर लागेका छन्, आफूलाई समाजवादसंँग नजिकिएको देखाउन । विदेशी स्पा ब्रान्डहरूलाई ल्याएर नेपाली स्पाहरू अन्तर्राष्ट्रिय स्तर बनाउनुभन्दा मिडियोक्रिटी सेवा दिने स्पाहरूले प्राथमिकता पाए । वेटरहरूको परिहन पनि पार्टी प्यालेसको जस्तो अलिक फोहोर, अलिक नमिलेको जस्तो बनाउनतिर लागे । नाम चलेका रेस्टुराँहरूलाई पनि स्टल राख्दा चटपटे बेच्नेजस्तो भएन भने समाजवाद विरोधी हुन्छ भन्ने लाग्न थाल्यो । केही प्राइभेट अस्पताल र स्कुलहरू सरकारीजस्तो हुनतिर लागे । कति निजी कलेज क्लासहरू सरकारीजस्तो थोत्रो बनाउनमा प्रतिस्पर्धा गर्न थाले ।

जबसम्म गुणस्तर नहुनुलाई समाजवाद हुनुसँंग जोडिएको हुन्छ, तबसम्म आर्थिक वृद्धि र विकासको गति तीव्र पार्न गाह्रो हुनेछ । भियतनाम, कम्बोडिया, बर्माजस्ता देश चीनको देखासिकीमा उदार नीतिलाई समाजवादको परिभाषा दिएर अघि बढे । उनीहरूले विदेशी सीप, लगानी र अवसरहरूलाई देशको आर्थिक विकासको निम्ति आवश्यक ठाने । नेपालको समाजवादको परिभाषा विपरीत एउटाको एकतले घर छ र अर्कोको तीनतले छ भने प्रोत्साहित गरेर दुवै पाँचतले बनाउन सघाए । नेपालमा झैं समानताका नाममा दुवैलाई एकतलेमा झारेनन् । समाजले पनि प्रतिस्पर्धा गर्न प्रोत्साहित गरे, बन्द–हडताल गरेर, सिन्डिकेट बनाएर प्रतिस्पर्धा हटाउन खोजेनन् ।

पुँजीवाद कल्याणकारी राज्य
मेरो पुस्तक ‘अर्थात् अर्थतन्त्र’मा पुँजीवाद कल्याणकारी राज्यको परिकल्पना गरेको छु । जहाँ अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्नसक्ने उदार उद्यमशीलता विकासका परिपाटी हुनेछ । जहाँ म:म:को व्यवसायजस्तै सबै खुला हुनेछ र सिन्डिकेटको मारबाट अलग । जहाँ राज्यले सिन्डिकेटको माध्यमबाट व्यवसायलाई अनुगमन होइन, स्वयम् अनुगमन गर्नेछ ।

जहाँ नेपाल एक्लो नभई छिमेक र विश्वको अरू देशहरूसित जोडिएको देश हो भन्ने आभास हुनेछ । जहाँ आर्थिक र विकासका क्रियाकलापको माध्यमबाट राज्यको राजस्व बढ्नेछ । सरकारका कल्याणकारी कार्यक्रमहरू धान्न सक्ने परिपाटी बन्नेछ र विपन्नहरूलाई एक पुस्ताभित्र सम्पन्न बनाउन सक्नेछ । जहाँ सभ्यता, अनुशासन, न्यायको कदर हुनेछ र नेपालीले आफूलाई आत्मग्लानि, कमजोर, गरिब ठान्नेबाट नेपाली हुनुमा गौरव महसुस गर्नेछ । मुलुक स्रोतहरूले परिपूर्ण हँुदै सबलतातिर लाग्नेछ, अनि संकुचित समाजवादको सोचबाट मुक्ति मिल्नेछ ।

https://www.kantipurdaily.com/bibidha/2018/06/11/152868339193432953.html?author=1

, ,

Leave a Reply