आजभोलि सबै धूलो, धूवाँ, तुँवालो र फोहोरको विशेषज्ञ भएका बेला म पनि कम † यसको संस्कृति, संस्कार र अर्थतन्त्र एक–आपसमा कसरी जोडिएको छ त, विश्लेषण गर्न मन लाग्यो । सोसल मिडियाको जमानामा मनमा आएको भन्न पाउने छुट छ, किन नभन्ने त ? नेपाली र दक्षिण एसियाली समाजमा नै भनौं, धूलोको कुरो फोहोरसँग जोडिएको छ । यी दुवै हाम्रो सामाजिक संरचना, हाम्रो हुर्काइ र मूल्य–मान्यताहरूसँग जोडिएका छन् । तसर्थ यसलाई विभिन्न कोणबाट हेर्न जरुरी छ ।
चोखो र सफा हुनुको अन्तर
हाम्रो संस्कृतिले चोखो हुनुमा धेरै जोड दिन्छ । पूजाआजाअघि, विभिन्न चाडपर्वमा चोखो हुनु एकदम जरुरी हुन्छ । हाम्रो हुर्काइ ननुहाए पनि दुर्गन्धित खोलाको चोखो पानी छर्केर चोखो हुनेको सिकाइबाट आयो । छिमेकीले फ्याँकेको फोहोरको थुप्रोको छेउमा माटोले लिपेर चोखो गरी लक्ष्मीको आगमनको बाटो तिहारमा गर्न सिकियो । पूजाआजा गर्न दुषित वातावरणमा अरूले फ्याँकेका पूजाका विभिन्न सामानको प्लास्टिकको झोलादेखि, टपोरहरूका बीच अलिकता पानी छर्केर स्वच्छ हुन्छ भनेर सिक्यौं । अरूले झैं आफुले पनि फोहोर त्यहीं फाल्ने संस्कृति बनायौं । मन्दिरहरू फोहोर हुने सामाजिक स्वीकार्यता भएको ठाउँमा आफ्नो वरिपरि कसरी सफा र धूलोरहित हुन्छ ?
जबसम्म फोहोर हुनु भनेको चोखो नहुनु हो भनेर हाम्रो समाज र संस्कृतिले मान्यता दिँदैन, हाम्रो वरिपरि फोहोर हट्ने छैन । धूलो भनेको फोहोरको एक पक्ष हो । हामीले फोहोरलाई झैं धूलोलाई सामाजिक स्वीकृति दिएका छौं । तसर्थ अन्य दक्षिण एसियाली मुलुकहरूमा झैं यसको नागरिक प्रतिकार हुँदैन । थाइल्यान्डजस्तो देशमा सफाइलाई समाजको एक पहिचानको रूपमा विकास गरेर लगिएको छ, तसर्थ सफाइको सामाजिक स्वीकार्यताले गर्दा त्यहाँ धूलो पनि स्वीकार्य छैन । चोखो हुनु भनेको सफा हुनुपर्ने हो भन्ने सामाजिक मान्यता आएको छ । मन्दिरहरूमा फोहोर छैन । मन्दिर परिसरमा बेच्ने पूजा सामग्रीका स्टलहरू पनि सफा छन् । गरिब भएर पनि विकसित देशहरूझैं सफा हुन सकिन्छ भनेर रुवान्डाले संसारलाई देखाएको छ । हामीकहाँ गत ३० वर्षमा आर्थिक रूपमा धेरै परिवर्तन आयो, शैक्षिक रूपमा धेरै परिवर्तन आयो तर पैसा कमाउँदैमा वा डिग्री आर्जन गर्दैमा मानिस सफा नहुने रहेछ ।
सफाइको संस्कार
मलाई स्कुलको बिदामा आउँदा धेरै कुराहरूले अचम्भित गथ्र्याे । हिउँदमा बिहे र भोजहरूको सिजन हुन्थ्यो । भोजमा जानका निम्ति मात्र नुहाउने संस्कृति बसेको थियो । रेड लेबल र पाँच सय पचपन्न चुरोटको फुर्ती लगाउनेहरूको घरमा शौचालय पनि नहुन सक्थ्यो । कुनै सामाजिक अवसरमा मात्र रंगरोगन गर्ने चलन अहिलेसम्म गएको छैन । पाँच–सात वर्षमा रङरोगन गर्न गाह्रो हुने ठूल्ठूला घर किन बनाउने भनेर ४० वर्षअघिको प्रश्न अहिले पनि म सोध्ने गर्छु । सफाइ गर्ने जिम्मा आफ्नो होइन, विशेष गरिकन पुरुषहरूको भन्ने मान्यता दिमागमा पालिएको छ । समाजको आधा भागले सफाइ गरेन भने समस्या त हुने नै गर्छ । हामीलाई पढाइ सँगसँगै सफाइ पनि सिकाइयो । जुत्ता राम्रोसँग पालिस गरेर गएन भने क्लासको बाहिर बस्नुपर्ने हुन्थ्यो । त्यसैले शौचालय सफा गर्न सिकियो । घरमा पनि, हातमा कुचो लिएर धूलो बडार्न सिकियो । अहिले हाम्रो अफिसमा पनि शौचालय सफा राख्ने जिम्मा साझा नै छ ।
फोहोर सफा गर्ने जातसँग चिनिने हाम्रो समाज छ । तल्लो स्तरको काममा गनिन्छ । तसर्थ ग्लानी महसुस हुने पेसाका रूपमा लिइन्छ । हुर्किंदादेखि सफाइ भनेको सक्दो अरूले वा महिलाले मात्र गर्ने पेसाका रूपमा सिकाइन्छ । हामीले पश्चिम विश्वको रहनसहन अनुशरण गर्न सिक्यौं, लुगा लगाउन, खानपिनलाई प्रस्तुत गर्न पनि अनुशरण गर्यौं । तर, हामीले त्यससँगै सफाइको अनुशरण गरेनौं । बाथरुममा कमोड भित्र्याउन सक्यौं तर कमोड सफा गर्ने विधि हामीले सिक्न आवश्यक ठानेनौं, किनभने कमोड सफा गर्नुलाई जात वा निम्नस्तरको कामसँग जोड्यौं । हामी हजारौ पर्ने फोन किन्छौं तर थोत्रो खोल लिएर हिँड्छौं ।
सफाइको संस्कार आफैंबाट सुरु गर्न जरुरी छ । बाल्यकालदेखि नै यो सिक्न र सिकाउन जरुरी छ । सफाइलाई स्वच्छ जीवनसँग जोड्न र यस तथ्यलाई स्कुलदेखि नै दिमागमा भर्न जरुरी छ, यसको मतलब शिक्षकहरूको सोचाइमा परिवर्तन आउन जरुरी छ । सफाइ गर्ने र सफा ठाउँ खोज्ने बच्चाहरू जब ठूलो हुन्छन्, तब मात्र आफू वरिपरिको फोहोर र धूलोको प्रतिकार गर्छन् र समाधानतर्फ लाग्छन् । जीवनमा तमासाको रूपमा बाहेक कुचो नबोक्नेहरू राजनीतिमा आएर सफाइ र धूलोसम्बन्धी समाधान ल्याउँछन् भनेर सोच्नु व्यर्थ हो ।
समृद्धिका लागि सफाइ
फोहोर र धूलोमा पैसा फलेको देख्नेहरूले पनि फोहोर र धूलो राख्नमा आर्थिक अवसरहरू देखे । सफाइको अर्थतन्त्र, धूलो र फोहोरको अर्थतन्त्रभन्दा ठूलो छ । नेपालमा भारतमा झैं, फोहोर र धूलोमा धेरै पैसा कमाए तर थोरैले मात्र । सम्पूर्ण सहरलाई दु:ख दिएर केहीले फाइदा लिए । सडक खनेर धूलाम्य छाड्दा पनि ठेकेदारको कमाइ हुँदोहरेछ । पुर्न जति ढिलो गर्यो, त्यति बढी पैसा । आयोजना जति तन्कियो, त्यति बडी फाइदा । फोहोर व्यवस्थापन गर्ने आयोजनाको तयारीमा धेरै पैसाको चलखेल । योजना आयो भने पैसा बन्द हुने रहेछ । आफूले फोहोर फ्याँक्ने बाल्टिन नकिन्ने, विभिन्न एनजीओले किन्ने, त्यही ठाउँमा कति संस्थानहरूले कति खर्च गरे ? वृक्षरोपण कार्यक्रममा त मन्त्री र ठूलाबडा नै चाहियो तर त्यो नउम्रेका रूखका वरिपरि संस्था वा बैंकको नाम हट्दैन र कतिले खुरुखुरु पैसा पनि लिने होलान् ।
हामीले सफा र धूलोरहित हुनुमा आर्थिक फाइदा छ भनेर बुझ्नुपर्यो । भुटानले आफ्नो सफा वातावरणलाई पर्यटकीय फाइदाको ठूलो पक्षका रूपमा परिवर्तन गरेको छ । सिंगापुरले आफूलाई विश्वमा नमुनाको रूपमा प्रस्तुत गरेको छ । संसारका विकसित सहरहरूमा खोलाछेउको जग्गा सबैभन्दा महँगो हुन्छ । ‘रिभरफ्रन्ट’ भनेर चिनिन्छ । नेपालका सहरहरूमा खोला छेउ सस्तो हुन्छ । त्यहाँ सुकुम्बासीको राजनीतिक संरक्षण पाएका झुपडी र घरहरू हुन्छन् । थाइल्यान्डले सफाइको बलमा पर्यटन विकास गरेर लागेको छ । रुवान्डाले सफाइलाई नै आफ्नो प्रतिस्पर्धात्मक कोणको रूपमा विकास गरी संसारका ठूल्ठूला सभा–सम्मेलन गर्न थालेका छन् । सफा सामान हुँदाहुँदै फोहोर सामान कसले किन्छ ? तर त्यो फोहोर देख्नुपर्यो अन्तर्राष्ट्रिय चक्षुबाट । हामीले चोखो बनेको जस्तो पनि चलिहाल्छ भन्ने सोचले होइन । सफाइ सभ्य समाजको पहिचान हो र यसको आर्थिक फाइदा धेरै छन् । यसका लागि दृष्टिकोण फेर्नुपर्यो । यो राजनीतिक समस्या होइन, सामाजिक–आर्थिक समस्या हो भन्ने रूपमा बुझ्नुपर्यो ।