• Follow Me On :
Articles

पैसैपैसा तर खर्च भएन

January 25, 2017

गत साता त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा पुग्दा मलाई कताकता २० वर्षअघि भर्खर खुलेको गोंगबुको बसपार्क पुगेजस्तै लाग्यो । जाने बेलामा मैले नचलेको सुरक्षा गेटको विषयमा त्यहाँ उपस्थित प्रहरी अधिकृतलाई भनेँ । तर आउने बेलामा ब्याग लिन जाँदाको दृश्य हेरेर त म दंग परेँ । नयाँ बनेको टर्मिनलमा अहिले पनि ‘कनवेयोर बेल्ट’मा चार–पाँच विमान कर्मचारीहरूले तँछाड–मछाड गरिरहेका यात्रुहरूको सामान दिइरहेका थिए । २१ औं शताब्दीमा पुरानो परम्परालाई नेपालीहरूले जतन गर्नसक्ने क्षमताबाट म दंग परेँ । नेपालको क्यान (नागरिक उड्डयन प्राधिकरण) ले गतवर्ष झन्डै ५०० करोड रुपैयाँको आम्दानी गर्‍यो, कर्मचारीहरूलाई ५३ करोड रुपैयाँ बोनस बाँड्ने निर्णय पनि अघि सार्‍यो । यति पैसा हुने संस्थाले विश्वको अन्य एयरपोर्टमा झैं किन २० करोड रुपैयाँ खर्च गरेर अत्याधुनिक ‘बेगेज सिस्टम’ हाल्न नसक्ने ? एयरपोर्टको दुर्दशा पैसाको कमीले होइन, सोचको कमीले गर्दा हो ।

 

पैसाको कमी छैन

दुई दशकअघि पैसाको कमीले विकास हुनसकेन भन्दा पत्यारिलो लाग्थ्यो । आजको भन्दा अर्थतन्त्रको आकार आधा थियो र सरकारी आय र बजेट कम । केही गर्नका लागि माग्ने भाँडो लिएर विभिन्न देश र निकायहरूलाई गुहार्नुपथ्र्यो । अब त्यो स्थिति छैन । सरकारी राजस्व बढेको छ । अर्थतन्त्रको आकार २० हजार करोड नाघिसकेको छ र बजेट खर्च १० हजार करोड भनिएको छ । तर हामीले खर्च गर्न भने सकिरहेका छैन । भुटान जस्तो देश, जसको अर्थतन्त्रको साइज हाम्रोभन्दा १० गुणा कम छ, उसले पनि हामीभन्दा बढी विकास खर्च गर्नसकेको छ । हामी रुवान्डा र कम्बोडियामा काम गर्दा नेपालको तुलना गर्दा आँखा रसिन्छ । 

 

रुवान्डाको अर्थतन्त्र हाम्रोभन्दा आधा छ र बजेट हाम्रोभन्दा एक तिहाइ, त्यति पैसाले उसले विश्व मानचित्रमा हक जमाइसक्यो । रुवान्डा जस्तै द्वन्द्वले तहसनहस भएको कम्बोडियाले अहिले ५० लाख पर्यटक भित्र्याउँछ । नेपालभन्दा आधा वार्षिक बजेट भएको कम्बोडियाले महत्त्वाकांक्षी योजनाहरू ल्याइरहेको छ । तर हामी ढुकुटीमा अर्बौं राखेर हजारको बैठक भत्ताको राजनीतिमा अडेर बस्छौं । नेपालसँग अहिले विदेशी मुद्राको मौजदात १० अर्ब डलर छ अर्थात् १ लाख करोड रुपैयाँ छ । २० वर्षअघि यसको १० प्रतिशतमात्र थियो ।

 

खोक्रो राष्ट्रवाद

नेपालमा हामी ह्विस्की विदेशी मनपराउँछौं, त्यो पनि स्न्याक्समा आयातित ‘प्राउन’ भए त झनै गज्जब । आफ्नो सबभन्दा लेटेस्ट मोडलको स्मार्टफोनमा विदेशमा पढिरहेका वा काम गरिरहेका छोराछोरीको फोटो र भिडियो मक्ख भएर देखाउँछौं । भर्खरै विदेश भ्रमणबाट किनेका सरसामानहरू अरूलाई डाह हुनेगरी देखाउँछौं । तर जब योजना कार्यान्वयन गर्ने कुरा आउँछ, तब हाम्रो खोक्रो राष्ट्रवाद अघि आइहाल्छ । एक किलोमिटर राम्रोसँग ढल नबनाएकाहरूलाई ठूलठूला बाटोका परियोजनाहरू सुम्पिन्छौं । दसवटा विमानस्थल नदेखेकाहरूलाई एयरपोर्टको ठेक्का दिन्छौं । झ्याम्पलले बाटो बिगार्न जाँदैमा राम्रो बाटो बनाउँछौं भनी ठान्छौं । 

 

संसारमा धेरै काम गरिसकेकालाई काम गर्न बिभिन्न रूपमा गाह्रो पारेर नेपाल छाड्न बाध्य बनाउँछौं । खरिद नियमहरूलाई यस्तो राम्ररी परिमार्जन गरिएको छ कि संसारका राम्रा कम्पनीहरूले कहिले नेपालमा काम गर्न सक्दैनन् । हामीले हाम्रा नियम कानुनहरू यसरी विकास गरेर लागेका छौं, जसले गर्दा संसारका ‘ट्याक–टुक’ मिलाउन सक्ने र नेपाली कम्पनीहरूसँग ठ्याक्क मिल्नेगरी बनाउने रुचि राख्ने बनायो । ‘सेटिङ’ जस्ता अंग्रेजी शब्दहरूको नयाँ नेपाली परिभाषा निकाल्यौं । राजनीतिक अस्थिरताहरूको फाइदा लिएर नेताहरूलाई राष्ट्रवादको नाममा ‘माफिया’, ‘चलखेल’जस्ता शब्दहरूको गजब उपयोग गरी छोटो कार्यकाल भए पनि फाइदामूलक बनाइदिए । अब किन चाहियो विश्वका सर्वश्रेष्ठ कम्पनी र प्रविधि ? पांँच सय हजार करोडको ठुला परियोजनाहरू बनाएर उद्घाटन गर्नुभन्दा एटीएम, दिसामुक्त क्षेत्र र झोलुंगे पुलहरू उद्घाटन गर्नमा व्यस्त भए । 

 

माग्ने बानी

हालै एउटा प्रोजेक्टको तालिमका दौरान धेरै जनासँग अन्तरक्रिया गर्ने मौका पाएँ । कति पुस्ट कमाएका व्यापारीहरू तालिमको निम्ति अलिक प्रोजेक्टले पैसा हाले हुन्थ्यो भनेर गुहार गरे । नयाँ बाइक र फोन किन्ने पैसा छ, राति बियर, सेकुवा र ब्ल्याक लेबल ह्विस्कीको लागि पनि पैसा छ, तर तालिम लिएर आफ्नो व्यवसाय अझै बढाउन भने माग्ने भाँडो अघि सार्‍यो । यो ठूलो रोगले पनि हामीलाई सताएको छ । 

 

आफूसँग भएको खर्च नगर्ने तर पैसा मागेर हिँड्ने । नेपालका बैंकहरू कति पाँच—दस हजार करोडका मूल्य भइसके, तर नयाँ शाखा खोल्न वा तालिममा विदेश पठाउन बिभिन्न दाताका प्रोजेक्टहरूको ढोका ढकढकाइरहेका हुन्छन् । अब भएकाले मागी हिँड्ने देशमा नभएकाले त अवश्य सीप र आफ्नो क्षमतालाई बढाएर लानुको साटो माग्ने नै भए । यही बानी हामीले मजासँग सञ्चित गरेर राखेका छौं र त्यसैले सरकारी ढुकुटीमा टन्न राखेर अंग्रेजी बोली—बोली हामी बिभिन्न दाताहरूसँग मागी हिँडेका छौं । 

 

बनाउने बानी कसरी बसाल्ने ?

सानो छँंदा बच्चाहरूले सामान छरपस्ट पारी कोठाभरि छर्दा हामीले बच्चालाई अन्य कति संस्कृतिमा झैं त्यो बटुलेर मिलाउन अक्सर सिकाउँदैनौं । हामीले बिगारेकोलाई बनाउने संस्कृतिसँग त्यति विश्वास गर्दैनांै । तसर्थ राजनीतिक पार्टीहरूको अधिवेशन होस् वा कुनै संस्थाको निर्वाचन होस् वा कुनै निजी कम्पनीले आयोजना गरेको कार्यक्रम नै किन नहोस्, अक्सर हामीले कार्यक्रमपछि भएको फोहोर छरपस्ट देख्छौं । यस संस्कृतिले गर्दा होला, सडक भत्काउन जसरी लागिन्छ, बनाउनतिर त्यति चासो देखिँंदैन । धुलो र फोहोर नै हाम्रो संस्कृतिको धरोहर हो भन्ने झल्काउन थाल्छौं । तसर्थ पहिलो, यस भत्काउने संस्कृतिबाट बनाउने संस्कृतितिर लाग्नैपर्छ । सुरु सायद उत्पादन गरेको फोहोरको व्यवस्थापनबाट गर्नु उत्तम होला । 

 

दोस्रो, सोचलाई खोक्रो राष्ट्रवादबाट अलिक फराकिलो बनाउन जरुरी छ । त्यसको थालनी गर्नैपर्छ । मन्त्रीहरूले पाँच सय करोडको परियोजनाभन्दा कमको परियोजनाको उद्घाटन गर्नतिर लाग्न भएन । जग हाल्नेमा होइन, परियोजना सम्पन्न भएको मात्रमा जानुपर्छ । हेलिकप्टर खर्चभन्दा कम खर्चको कार्यक्रमहरू हेलिकप्टरमा गएर उद्घाटन गर्ने लतबाट मुक्त हुनैपर्छ । दिसामुक्त क्षेत्रको कार्यक्रमलाई टेलिभिजनमा हेरेर कब्जियतबाट मुक्ति पाउने तरिकामा बदलाव ल्याउनैपर्छ । तेस्रो, दाता राष्ट्र र संस्थानमा विनम्र निवेदन छ कि खर्च गर्न नसक्ने सरकार वा सरकारी संस्थाहरूलाई अब पैसा नदेऊ । खर्च गर्न नसक्नेले माग्ने भाँडो अघि सारे भाँडोमा ज्ञानबुद्धि र सुझावहरूले भरेर पठाऊ । यो शैलीमा ठूलो परिवर्तनको आवश्यकता छ । 

 

नेपालको दिगो आर्थिक विकासको निम्ति भौतिक तथा सामाजिक पूर्वाधारहरूमा धेरै लगानी गर्नुपर्ने छ । यो बिना आर्थिक रूपान्तरण असम्भव छ । त्यसैले पनि भएको पैसा खर्च गरौं र त्यो पनि राम्ररी मात्र खर्च गरौं ।