October 26, 2016 Sujeev Shakya

नेपालमा किन अकासिन्छ महँगी ?

दसैं—तिहारको बखत तासको हारजित, मासु र खानाको परिकारसँगै ठूलो चर्चा हुने विषय हो, महँगी । एक्कासी सबै थोकको मूल्य बढ्छ । श्रीमतीले कालिमाटी बजारमा तरकारीको भाउ सुनाएपछि अनलाइनमार्फत भारतको पसलहरूको भाउ हेरेँ । कस्तो फरक ! यो प्रश्नले मलाई जहिले पनि घोचिरहेको हुन्छ । प्रत्येक पटक कलकत्ता जाँदा म त्यहाँको अन्डा रोल खान्छु र त्यस पसलको मूल्यसूचीको फोटो लिन्छु । सबैभन्दा व्यस्त र महँगो भाडा तिर्नपर्ने पार्क स्ट्रिटको कुसुम रोल सेन्टरमा भारतीय बीस रुपियाँमा ढुस्स हुनेगरी दुइटा रोल खान्छु र चालीस रुपियाँ तिर्छु । अथार्त् प्रत्येक रोलको नेपाली ३२ रुपियाँ । काठमाडौंमा त्यही रोल नेपाली १२० रुपैयाँ घटी पाइँदैन । अब रोलमा लाग्ने अन्डा, रोटीको मैदा, तेलमा भारत र नेपालमा त्यस्तो फरक छैन । अब नेपालको घरबहाल कलकताको भन्दा त धेरै छैन । नेपालमा मजदुरको ज्याला अलि बढी होला, तर बाँकी के भन्दा– नाफा । नेपालमा नाफा धेरै चाहिन्छ । हामीलाई डबल नाफा नखाए त मन नै बस्दैन । त्यसैले होला, तासमा म्यारेज खेलोस् या फलास, डबल गर्न सबै उत्सुक । नेपालमा सामान बन्नेदेखि ग्राहकसम्म पुग्दा कति धेरै व्यापारीको हातमा नाफा दिँदै हिँड्नपर्छ । सामान उत्पादन गर्नेले भन्दा सामानको व्यवसाय गर्नेले धेरै नाफा कमाउने प्रवृत्ति छ । नाफखोरीको भँुवरीले नेपालमा सबै कुराहरू महँगो भएको प्रतीत हुन्छ ।

मूल्यवृद्धिको चक्रव्यूह
नेपालमा बहाना पायो भने मूल्य बढ्ने ग्राहक वर्गमा सामान्य कुरो भैसक्यो । पहिले एफएम सुनेर अहिले ह्वाट्स एप र भाइबरले नारायणघाटको बाटोमा जाम भयो भन्ने बित्तिकै पसलमा राखेको सामानको भाउ आफसेआफ बढ्छ । झन् नेपाल बन्दको कुरो आयो भने तरकारी बेच्नेले मुसुमुसु हाँस्दै बन्दको समाचारसँंगै भाउ बढेको कुरा अगाडि सार्छ । नेपालले साँच्चै नै अर्थशास्त्रको कुराहरूलाई सही सावित गरेको छ । ‘सप्लाइ’ घटे डिमान्ड बढ्छ र त्यसले गर्दा भाउ बढ्छ । तर त्यो बढेको भाउ विरलै घट्छ । तेलको मूल्य एक/दुई रुपियाँले बढ्दा ढुवानी र यातायातको भाउ तुरुन्त बढ्छ । तर तेलको भाउ घट्दा त्यो घट्ने नामै लिँदैन । नेपाली व्यवसायीहरूको मनमा सबभन्दा उच्च भाउदरमा बेचेकोभन्दा कममा बेच्नपरे घाटा लागेको सम्झन्छ । कुनै दिन बन्दागोभी २ सय रुपियाँमा बिक्री भयो भने साविक मूल्य त्यही भनेर ठान्छन् र त्योभन्दा घटीमा बेचेको सबै घाटा भएको मान्छन् । त्यसैले कित मूल्य २ सय रुपियाँ पुग्दामात्रै बेच्छन् वा त्यो व्यवसाय नै छाडिदिन्छन् र काँक्रो वा टमाटरतिर लाग्छन् ।

फेरि ग्राहकले पनि गुनासो गर्दैनन् । एक त सामान नै नपाउँला भन्ने चिन्ता अर्को डाकेका आफन्तले किलोको ६ सय ५० पर्ने च्याउ किन पकाएन भनेर सोध्ने चिन्ता । अब ६ सय ५० नै तिरेर यही समयमा किन च्याउ खानपर्ने भन्ने प्रश्न गरे समाजमा भर्खर बढेको प्रतिष्ठा ह्वात्तै खस्ने चिन्ता । अब २ सय २० को गाँजर, २ सयको काउली तिरेर भए पनि सबैमाझ काठमाडौंमा जमेर बसेको भनी देखाउनु नै पर्‍यो । अब महँंगो मूल्यमा पनि यस्तो माग छ भने किन कम गर्ने ? अब महँगो मूल्यमा तरकारी किनेर आफ्नो रेस्टुरेन्टमा खाना र खाजा पनि महँगोमा नै बेच्नपर्‍यो । अब त्यस्तो महँगो खाना खाएर त मजदुरीको ज्याला पनि त महँगो नै लिनपर्‍यो । अब महँगो मजदुरी तिरेर ढुवानी गरेको तरकारीको भाउमा त अझ अलिकति थप्नैपर्‍यो । अब सबैले यो महँगीको चक्रव्यूहलाई स्वीकारेको छ भने मूल्य अकासिने बाहेक कम हुने छैन ।

पैसाको चलन
भारतमा स्कुल पढ्दा हिउँदको बिदामा एउटा कुराले धेरै अचम्मित पाथ्र्यो । उता पैसाको हिसाब चल्थ्यो । पाँच/दस पैसालाई पनि पैसा गनिन्थ्यो । यहाँ भने सुका–मोहरको कुरा हुन्थ्यो । पैसामा कुरा गरे मेरा दौंतरी, आफन्त, साथीहरू हाँस्ने गर्थे । अहिले आएर सबै कुराहरू दस रुपियाँको हिसाबमा चल्छ । एक/दुई रुपियाँ छाडेर पाँच रुपियाँको पनि कदर छैन । खुद्राको चलन नभएको देश भनेर भनिने गथ्र्याे । हो नै जस्तो लाग्छ । भारत जाँदा त्यहाँ पैसा वा एक/दुई रुपियाँको कुरा गरे २३ औं शताब्दीबाट आएर २१ औं शताब्दीमाथि खिल्ली उडाएझैं गर्छौं ।

अहिले ज्याला सयको गुणामा तय हुन्छ, कि पाँच सय कि छ सय । एक सयभित्रका रुपियाँको त हामी कुरा नै गर्दैनौ । हजारको कुरा आए, सयको कुरा छाड्छौं, लाखको कुरा गर्दा हजार । यो विषयमा अध्ययन गर्ने व्यक्तिहरूले उद्यमशीलताभन्दा ‘बहाले मनसाय’ भएका देशहरूमा यस किसिमको चलन पाइने गरेको बताउँछन् । आय आर्जन गर्नेभन्दा पुख्र्यौली सम्पत्तिको भोग चलन गर्ने, आफूले उत्पादन गर्नेभन्दा व्यापार गर्ने र सेवालाई मूलमन्त्र बनाउने सट्टा ‘लिए लेऊ, नलिने भए जाऊ’ भन्ने मनस्थिति बोकेका व्यवसायीहरूले यसलाई संस्थागत गरिदिएको छ । त्यसको माथि पनि संघको नाममा सिन्डिकेटले त संगठनात्मक रूप लिएको छ । राजमार्गमा महँगो मूल्यमा झुर खाजा/खाना खान बाध्य बनाएको होस् वा गुणस्तर थाहा नभएको बोतलको पानी ।

बिनाबजेटको संस्कृति
नेपालमा राष्ट्रिय बजेटको विषयमा धेरै टिकाटिप्पणी गर्छौं, तर आफ्नो घरको बजेटको विषयमा हामी सोच्दैनौं । हामी बीस लाखको गाडी किन्न गएकाहरू ‘अटो शो’मा चालीस लाखको गाडी बुक गरेर आउँछौं । अनि किस्ता तिर्ने बेलामा हम्मे—हम्मे । बजेट बिनाको खर्च गर्ने हाम्रो बानीले मूल्यवृद्धि भएको थाहा हुँदैन वा थाहा पाए पनि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउँदैनौं । मासुको भाउ जति पुगे पनि, सधैं मासु खाने मानिसलाई मासु नभए हुन्न । नाकाबन्दीपश्चात् त्यस्तो महँगो समयमा भोज गर्नेहरूले कुनै सम्झौता गरेनन् । अमेरिका वा अन्य विकसित देशहरूमा पनि अलिक मूल्यवृद्धि भयो भने तुरुन्त त्यसको असर अर्थतन्त्रमा देखिन्छ । रेस्टुरेन्ट जान अलिक कम गर्छ, घुम्ने ‘प्लान’हरू पर सार्छन् । तर हामीकहाँ बैंकहरूको कर्जा असुलीको ३५ दिने सूचनाको फोटोसहितको विज्ञापन छापिसकेर पनि बानी सुधार्दैनौं । अब बजेट नबनाउने हामी नागरिकहरूको जमातबाट नै बनेको सरकारमा बस्नेहरूले राष्ट्रिय बजेट बुझेर चलोस् भनेरचाहिँ आशा गर्छौं । कस्तो अनौठो !

नेपालमा महँगीविरुद्ध साँच्चै नै जुझ्ने हो भने यी तीन कुरातिर ध्यान दिन आवश्यक हुन्छ । एक, प्रत्येक परिवारले पारिवारिक बजेटको परिभाषा बुझ्नुपर्छ र त्यसमा रहने सोच्नुपर्छ । दुई पैसा छाडौं, तर रुपियाँको चलन मूल्यमा फेरि ल्याउनुपर्‍यो । एक र दस रुपियाँको बीचमा धेरै अरु संख्या पनि हुन्छ । तेस्रो, संघहरूको आडमा बनेका ‘सिन्डिकेट’हरूलाई तोड्नुपर्छ । खुला बजारमा मूल्य निर्धारण गर्ने प्रत्येकको हक हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *