September 23, 2016 Sujeev Shakya

भ्रष्टाचार र हाम्रो समाज

सानो छँदाको सम्झना गर्दा पशुपति मन्दिरमा अलिक बढी भेटी दिएर अघि सर्न पाइन्थ्यो र गरिन्थ्यो । मन्दिरहरूमा आफ्नो पहुँच देखाएर भित्र छिरेका धेरै दृश्यहरू आँखासामु आउँछन् । बुद्ध पूर्णिमाको दिन लाम लागेर स्वयम्भूको आनन्दकुटी विहारमा दर्शन गर्न जाँदा विशिष्ट महानुभावहरू भनी स्वाट्ट छिरेर भिक्षुहरूले  उल्टा अभिनन्दन गरेका दृश्यहरू पनि स्मरणमा आउँछन् । त्यसपछि हुर्किंदै गर्दा, आफूलाई पढाउने सर र मिसहरूले स्कुलको सट्टा ट्युसन चलाउन मन गरेको थाहा भयो । आम्दानी कम भएको समस्या देखाई अतिरिक्त आय हुने यस्ता स–साना स्रोतहरू उनीहरू खोज्थे । सरकारी अस्पतालमा जाँदा एक्सरे गर्न ठेगाना लेखिदिने , आँखा जँचाउन जाँदा चस्मा पसलको सिफारिस गर्ने र थोरै पैसा लिने गरेको पनि देखिएकै हो । दसैंमा बसको टिकट किन्न बढी पैसा तिर्नुपर्ने प्रथा गएको छैन । सिनेमा हेर्दा ब्ल्याक टिकेट किन्ने प्रथा समाजले स्वीकारेकै थियो । भनसुन गर्नुपर्ने, दाम हाल्नुपर्ने, समाजले स्वीकारेका चलन थिए ।

समाजमा परिवर्तनसँगै भ्रष्टाचारका विधिहरू फेरिए, तर सायद नियति फेरिएन । भ्रष्टाचार विरुद्ध हामी धेरै कुरा गर्छौं । एयरपोर्टमा बढी वजन भएकोमा लोडर लाई केही पैसा हातमा थमाएर धेरै सामान सुटुक्क छिराउने गर्छौं, पछि नागरिक उड्डयन प्राधिकरणमा भएको भ्रष्टाचारको विषयमा भाषण दिन्छौं । छोरी दिने कुरा हँुदा राम्रै जागिर खाएको भनी फुर्ती लगाएको ज्वाइँ पाइयो भनेर फुर्ती गरेको सुन्छौं । हुने वाला ज्वाइँको त घर नै कतिवटा, पैसा त निकै राम्रो कमाउँछन्’ भनेको पनि सुन्छौं । ३० हजारको जागिर हुनेले तीन करोडको सम्पत्ति भगवानको देनको रूपमा लिएर मुसुमुसु हाँसेर हुने वाला सम्धी—सम्धिनीहरूसँग नेपालमा भ्रष्टाचारले पिरोलेको कुरा गर्न चुक्दैनौं ।

समाजसँग जो डिएको ठगी

भ्रष्टाचारको कुरा नेपालमा समाजसँगै गाँसिए पनि हामी आफूलाई अलग्गै राख्न चाहन्छौं हामी र आफूचाहिँं त्यसमा सम्मिलित नभएझैं व्यवहार गर्छौं । बारमा बसे र बेस् सरी रक्सी खाएपछि यसरी कुरा गर्छौं, मानौं रक्सीले कलेजो त अरूको पो बिग्रिन्छ, आफ्नो त कहाँ त्यस्तो हुन्छ र ? यसरी नै भ्रष्टाचार को सन्दर्भमा पनि ‘ अरूमात्र भ्रष्ट, म त होइन’ भन्ने रूपमा प्रस्तुत हुन्छौं । यदि नेपालमा सामाजिक रूपमा भ्रष्टाचारलाई उन्मूलन गर्नुछ भने यसलाई अन्तर मनबाटै नियाल्नुपर्ने अवस्था छ । रिपोर्ट बनाएर , गोष्ठी— सेमिनार गरेर , सिनेमामा विज्ञापन देखाएर र भ्रष्टाचार विरोधी टिसर्ट लगाएर धेरै समाधान होला जस्तो छै न ।

यदि समाजले भ्रष्टाचार लाई अस्वीकार गर्ने हो भने किन हामीकहाँ यो झन्—झन् बढिरहेको छ त ? के ठगीमा आधारित समाज विकासक्रमले भ्रष्टाचार लाई स्वीकृति दिएको त होइन ? तरकारी किन्न जाँदा म त्यस्तो ठगीको चक्रव्यूह परिकल्पना गर्छु । तरकारी बेच्नेले ठग्छ, किनभने उसलाई गाडीवालाले ठगेको हुन्छ । गाडीवालालाई पेट्रोल पम्पले , पेट्रोल पम्पको मानिसलाई उपचार गराउँदा अस्पताल र पोली क्लिनिकहरूले ठगिरहेका हुन्छन् । त्यही अस्पताल वा पोली क्लिनिककाहरू ट्याक्सी चढ्छन् र ठगिन्छन् । ट्याक्सीवाला आफ्नो बच्चा पढेको स्कुलले ठगेको कुराको तुलना गरेर तर कारी किन्न जाँदा तरकारी बेच्नेलाई ठगेको आरोप लगाउँछ । सायद यो परिकल्पनामात्र होइन, वर्तमान नेपाली समाजको यथार्थ हो ।

कसलाई कानुन, कसको कानुन ?

जब समाजमा यस प्रकारको ठगी र भ्रष्टाचारको भुँवरी सिर्जना हुन्छ, तब नियम—कानुनले केही गर्न सक्दैन । कानुन भनेको समाजमा केहीले कानुन—नियम मिच्यो भने कारबाही गर्नलाई तयार पारिएको संरचना हो । समग्र समाज नै कानुन—नियम विपरीत चल्न थाल्यो भने कानुनले केही गर्न सक्दैन । उदाहरणका निम्ति, ट्राफिक प्रहरीले एकतर्फी सडक (वान—वे मा केही व्यक्तिले नियम मिच्दा कारबाही गर्न सक्छ, तर सबैले नियम मिच्न थाले भने केही गर्न सक्दैन । सरकारको संरचना भनेको प्रत्येक व्यक्तिको कामकारबाही हेर्न बनाइएको हुँदैन, केहीले मात्र कानुन विपरीत काम गर्लान् भनेर सोचिएको हुन्छ ।

समाजले कानुन विपरीत चल्नेहरूलाई तिरस्कार गर्छ वा बहिष्कार गर्छ भन्ने आधारमा काम गर्छ । तर समाजले नै कोल्टे फेरेमा कानुनले मात्र केही गर्न सक्दैन । अपराध गरेर जेल गएकालाई राजनीतिक दलले उठाएर अत्यधिक मतले जिताएमा केही गर्न सक्दैन । ऋण नतिरेको ३५ दिने सूचनासहित सार्वजनिक ठगको रूपमा चिनिएका व्यक्तिलाई सामाजिक कार्यक्रममा दोसल्ला ओढाइन्छ भने त्यस्तो समाजमा कानुनले केही मद्दत गर्न सक्दैन ।

भ्रष्टाचारको आर्थिक प्रसंग

संसारमा भ्रष्टाचार मुक्त समाज कुनै पनि छैन । ठूलठूला विकसित भनिने मुलुकहरूदेखि अविकसित देशहरू सबै तिर भ्रष्टाचार हुन्छ, ठगी हुन्छ । फरक त्यति हो कि केही समाजमा भ्रष्ट भएको थाहा भयो भने समाजले त्यस्ता भ्रष्ट र ठगहरूलाई बहिस्कार गर्छ ।

कानुनले त्यस्ता व्यक्तिलाई सजाय सुनाउँदा समाजले विरो ध प्रदर्शन गरेर रोक्न जादैन । त्यसै गरी कानुनले गलत रूपमा कसै विरुद्ध कारबाही गरिरहेको छ भने समाज हामीकहाँ झैं मौन पनि बस्दैन । विकसित र समृद्ध मुलुकहरूमा भ्रष्टाचारलाई समाज र कानुन दुवैले एकै रूपमा हेर्छन् । भ्रष्टाचार र ठगहरूलाई खोजेर निकाल्छन् र कारबाही गर्छन् । त्यस्ता देशहरूमा लगानीकर्ताहरू सुरक्षित महसुस गर्छन् । नियम कानुनको परिवर्तन कसैको निजी हितमा नभई समृद्धिका निम्ति गर्छन् । यसर्थ नेपालमा लगानी भियभयाउने हो भने यो मनस्थितिमा परिवर्तन नआई सुखै छैन ।

नेपालमा हाम्रो संस्कृति र धर्मले केही पाउन केही दिने भन्ने कुरालाई स्वीकारेको छ । भाकल गरेर आफूले चाहेको कार्य पुरा गर्न सकिने मान्यता छ । दुइटा लड्डु चढाएको भरमा कामै नगरी मामको आशा गर्न पनि छुट छ, हामीलाई । तर हामीले कानुन र राज्यबाट होइन, आफ्नो सोचबाट कति परिवर्तन ल्याउन सकिन्छ भनेर सोच्न जरुरी भइसकेको छ, अब ।

नेपालमा मिहिनेतीहरूको कमी छैन । यस्ता धेरै मिहिनेतीहरू ठग र भ्रष्ट नियतिबाट टाढा, आफ्नो काम जिम्मेवारीमै लीन भएर बसेका छन् । समाजको मेरुदण्डका रूपमा रहेका यिनीहरू चुपचाप आफ्नो दिनचर्यामा लागेका छन् । वास्तवमा यही वर्ग/समुदायले गर्दा हाम्रो समाज टुटेको छैन । तर यस्ता व्यक्तिहरू पनि विस्तारै बेचैन हुँदै छन् । उनीहरू कुनै आन्दोलनमा ओर्लंदैनन्, विस्तारै अन्य मुलुकहरू खोज्दै हिँड्छन् । हामीकहाँ यस्तै भइरहेको छ । स्वदेशीहरू नै प्रवासी बन्न थाले पछि विदेशीहरूले पनि बिर्सिदिन्छन् । भूगोलको मानचित्रमा एउटा ठाउँ ओगटिने देशमा मात्र हामी परिणत हुन्छौ ं, जहाँ भ्रष्ट र ठगहरूको बिगबिगी हुन्छ । त्यसैले यसबाट बच्ने हो भने भष्टाचार को कुरा गर्दा नयाँ चस्मा लगाएर हेर्न थालौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *