August 25, 2016 Sujeev Shakya

नेपाली सेयर बजार : चाहिएको सुधार

अहिले काठमाडौंमा मदिरा व्यवसाय खुब फस्टाउँदैछ रे ! सेयर बजार बढे पनि घटे पनि रक्सी पिउने निहुँ हरेक दिन पाइरहेका छन् रे ! मात्र ब्रान्ड अलिअलि बद्लिन्छ, माथि गए महंँगो, झरे सस्तो ! नेपालीहरूको विश्वभरि नै पहिचान शनिबार वा बिदाको दिन तास खेलेर बिताउने भनेर बनेको छ । यो सायद नेपालीहरूको सबभन्दा समावेशी पहिचान होला । जात, धर्म, आय वर्गमा यो समान पहिचानको रूपमा देखिन्छ । हामीले ओलम्पिक नखेले पनि, विश्वकप फुटबलमा भाग नलिए पनि यो खेलमाथि हुने जुवाचाहिँं अवश्यै खेल्छौं । यही जुवाडे प्रवृत्ति हाम्रो सेयर बजारमा पनि देखिन थालेको छ । क्रेडिट रेटिङको के मतलब, वासलात र अडिट रिपोर्टले के भन्छ, केको चासो ! घ्वार्र बढ्यो, झर्र झर्‍यो, त्यो पो रमाइलो । जस्तो कि एकजनाले मसँग भने, ‘तासमा ब्लाइन्ड खेल्न हुन्छ भने सेयरमा किन नखेल्ने ?’ नेपालको आर्थिक विकासको नाजुक अवस्था हेर्ने हो भने हामीकहाँ यो मनसायले सेयर कारोबार गर्दा धेरैजना टाट पल्टेका कथाहरू पनि सुन्ने गरिन्छ ।

नेपालमा कुनै बेला स्टिल दराजको ‘स्किम’ आयो, ढुकुटीले कतिको ढुकुटी भर्‍यो भने कतिको रित्तियो । प्रतिष्ठित व्यक्तिहरूले ‘संरक्षण’जस्ता ‘पिरामिड स्किम’ पनि चलाए, जसलाई आजकल ‘नेटवर्क मार्केटिङ’ पनि भन्ने भनिन्छ । अंग्रेजीमा भन्यो भने नेपालीमा भन्नेभन्दा धेरै भरोसा दिने जस्तो सुनिने । त्यसैले होला, अंग्रेजी नाम ‘युनिटी’ राखेर चलाइएको धन्दाबाट हजाराैं नेपालीहरू ठगिए । कमोडिटीको नाममा अर्को लहर आयो । त्यसबखत एक व्यक्तिले बयान गरे, ‘कम्प्युटरमा झ्याप्प हानिदिन्छ, अनि त पैसा दोब्बर ।’ खासमा हामी नेपाली मिहिनेतमा भन्दा सुनको अन्डा दिने कुखुरामा विश्वास गर्छौं र त्यो कुखुराको खोजीमा बिभिन्न कुराहरू परीक्षण गर्छाै‌ं । हाम्रो अहिलेको परीक्षणमा सेयर बजार परेको छ । अब यसले सुनको अन्डा देला त ?

किन बढ्यो बजार
नेपालमा लगानीको अवसर कम छ र पैसाको तरलता बढी । बैंकमा पैसा राखे ब्याज नै कम । त्यसको साटो बैंकको कर्जा लिएर सेयरतर्फ लगानी गर्नुलाई ठिक ठान्न थालिएको छ । नेपाली सेयर बजारको इतिहास केलाएर हेर्दा गत दुई दशकमा जब–जब बैंकले सेयर किन्न कर्जा खुकुलो पार्‍यो, तब–तब सेयर बजार उँभो लाग्यो र कर्जा दिन कडाइ भएपछि ओरालो । राष्ट्र बैंक र धितोपत्र बोर्डले कुनै नियम निकाल्दा यो झ्वार्र झर्ने गर्छ । त्यसैले विश्वकै ‘अद्वितीय’ बजार बन्न पुगेको छ, यो ।

विश्वको सेयर बजारको नियम विपरीत चल्छ, हाम्रो यो बजार । अरू ठाउँमा राजनीतिक अस्थिरता हुने बित्तिकै बजार खस्कन्छ, हामीकहाँ राजनीतिक समस्या जति चर्कियो, बजार त्यति चर्किन्छ । संसारको नियम छ– पँुजी बढे, सेयरधनीको आम्दानी घट्छ र त्यसैले सेयरको भाउ घट्छ । नेपालमा पुँजी बढाउने हल्लाले सेयरको भाउ अकासिन्छ । अन्य बजारहरूमा क्रेडिट रेटिङ अथवा सेयरको जोखिमको अंक दिइन्छ, जति रेटिङ कम त्यति सेयर बेच्न गाह्रो, तर ढलको पानी बोतलमा बिक्ने देशमा रेटिङ जे भए पनि चल्छ । रेटिङ हुन्छ भनेर धेरैलाई ज्ञातसमेत हुँदैन । यस्तो परिवेशमा नेपालको सेयर बजार किन नअकासिने ?

पहिले सेयर बेच्न कागज नै लगेर बेच्नुपर्ने, अनेक झमेला थियो, अब स्वाट्ट छिट्टै कारोबार गर्न पाउने अवस्था छ । कागजबाट कम्प्युटरमा सार्दा यो कारोबार दुई गुणाले बढ्छ भन्ने ठानिएको थियो । अहिले करिब नेपाली बजारमा ५ लाखजति खाताहरू खुलेका छन् र कारोबार बढ्नुमा यसको ठूलो भूमिका छ । तर जुन रूपमा सेयरको भाउ अकासियो, त्यो भने धान्न सकिने किसिमको देखिन्न ।

किन घट्छ बजार ?
नेपालको सेयर बजारमा वित्तीय संस्था र जलविद्युत कम्पनीहरू हावी छन् । वित्तीय संस्थाहरूको पुँजी वृद्धिले सेयरको कृत्रिम मूल्य सिर्जना गरेको छ । तर पुँजी जति बढ्यो, त्यही अनुपातमा नाफा बढ्ने देखिन्न । नगद लाभांश बढ्न मुनाफा बढ्नुपर्छ । त्यो बढ्न गाह्रो छ । बिमा कम्पनीहरूको पँुजी ५ अर्ब पुग्छ भनेर सेयरको भाउ अकासिएको छ । तर सम्पूर्ण बिमा कम्पनीहरूले अहिलेको मुनाफा स्थिति राख्ने हो भने तिनले वर्षको ६ खर्बको कारोबार गर्नुपर्ने हुन्छ । त्यो भनेको अहिलेको कारोबारको पाँच गुणा बढी हो । त्यही रूपमा बैंकहरूको नाफा यही स्थितिमा राख्ने हो भने नेपालमा बैंकिङ कारोबार अहिलेको तुलनामा पाँच गुणाले बढ्नुपर्छ ।

नेपाली लगानीकर्ताहरूले जलविद्युतमा चासो देखाउन थालेका छन् । पहिले ‘झोलामा खोला’ भनिन्थ्यो, अब खोलाको यात्रा सेयर प्रमाणपत्रसम्म तय भयो । तर अझै जोखिमपूर्ण रहेको यो लगानीको प्रतिफल के हुन्छ, समयले देखाउनेछ । संसारको ठूलामध्ये एक अमेरिकी इन्जिनियरिङ फर्मले डिजाइन गरेको र अन्तर्राष्ट्रिय लगानीकर्ताको सख्त सर्तहरूमा बनेको माथिल्लो भोटेकोशी परियोजनाको भूकम्प र हालको बाढीले गरेको क्षतिले जलविद्युतका जोखिमहरूबारे अझ सोच्न बाध्य बनाएको छ । यो परियोजनामा अन्तर्राष्ट्रिय बिमा सल्लाहकार र सर्तहरूको पालनाले नोक्सानीको केही भाग घटाउन सक्ला । तर अन्य कम्पनीहरूले कसरी जोखिम न्युनीकरण गरेका छन् त ? सेयर जारी गर्दा बुझ्न गाह्रो छ ।

सुधारको आवश्यकता
भारतमा पनि दुई दशकअघि सट्टा बजार र सेयर बजारमा फरक थिएन । हर्षद मेहता जस्ताको बिगबिगी थियो । त्यसपश्चात आर्थिक सुधारको क्रममा भारतले विदेशी लगानीकर्ताहरूलाई सेयर बजारमा लगानी गर्न खोलिदियो । अन्तर्राष्ट्रिय ब्रोकरहरू, सल्लाहकार फर्महरूलाई अफिस खोल्न दिइयो, संगठित लगानीकर्ताहरूले व्यक्तिगत लगानीकर्ताहरूलाई उछिनेर बजारलाई होहल्लाबाट होइन, अनुसन्धान र विश्लेषणको भरमा चल्ने बनाए । सट्टावालहरूको भूमिका न्युन हुनथाल्यो । नेपालमा पनि यस्तै सुधारको आवश्यकता छ ।

नेपाली सेयर बजार, सुरुमा दोस्रो बजारलाई विदेशी संगठित लगानीकर्ताका लागि खुल्ला गर्न दिनुपर्छ । विदेशी परामर्शदाता, शोधकार्यमा निपुण संस्थानहरूलाई कार्यालय खोल्न दिनुपर्छ । बजारको गहिराइ बढाउनुपर्छ । नेपालमा ऋण प्रशस्त पाइन्छ, तर यसको अनुपात मिलाउन सेयर बढाउन नेपाली कम्पनीहरूलाई सेयर बजारबाट धितोपत्र बोर्डले भनेको मूल्यमा होइन, बजारले तय गरेको अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत गरिने भाउमा सेयर जारी गर्न दिनुपर्छ । नाफामूलक कम्पनीहरूलाई जबर्जस्ती होइन, दीर्घकालीन फाइदा देखाएर सर्वसाधारणलाई सेयर बेच्न दिनुपर्छ । नेपाली जनताले नाफामूलक कम्पनीहरूको सफलताको अंश पाउनुपर्छ ।

साथसाथै हामीले नेपाल भनेको काठमाडौंमात्र हो भनेर ठान्नु भएन । अहिले काठमाडौं बाहिरका लगानीकर्ताहरू मात्र ५५ वटा छन् । त्यो बढ्नुपर्‍यो । प्रविधिमा लगानी गर्नुपर्‍यो । नेपाल स्टक एक्सचेन्जमा अन्तर्राष्ट्रिय साझेदार ल्याएर त्यसलाई सेवामुखी बनाउनुपर्‍यो । इन्टरनेटको माध्यमबाट, फोनबाटै नेपालको कुनै ठाउँमा पनि बसेर कारोबार गर्न सकिने बनाउनुपर्‍यो । नेपाल जस्तै अरू मुलुकहरूमा के–कस्ता सुधार भइरहेका छन्, अलिअलि देखासिखी पनि गर्नुपर्‍यो ।

कुनै पनि आर्थिक क्रान्तिको मेरुदण्डको रूपमा सेयर बजार प्रस्तुत हुन्छ । बजारबाट उठाएको पुँजीले लगानीको भर पाउँछ । उद्यमीको सपनाहरूलाई साकार पुर्‍याउन मद्दत गर्छ । उद्यमीले कमाएको नाफा लगानीकर्ताहरूसँग बाँडिन्छ । उद्यमीको सफलतासँग लगानीकर्ताको पनि पुँजी बढ्छ । यसैले अंग्रेजी भाषामा ‘सेयर’ अर्थात् ‘बाँड्ने’ भनिएको हो । तर यो दीर्घकालीन यात्रा हो । तास खेल्दा ब्लाइन्ड खेलेको वा झ्वाट्ट शो गरेर कमाउने वा गुमाउने संयन्त्रजस्तो होइन यो । सेयरबारे जनमानसमा देखिएको चासोलाई सकारात्मक रूपमा लिएर सुधारहरू गरेर यसको दिगो विकास गर्न सकिन्छ । इतिहास पल्टायो भने हामी धेरैपटक चुकेको पाउँछाैं । यस पटक नचुकौं ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *