July 28, 2016 Sujeev Shakya

सन् ‘३० को नेपाली लक्ष्य के?

काठमाडौंदेखि ललितपुर जोडिने वागमती नदीको पुलमा इँटा बिछ्याएर मर्मत गरिरहेको गौरसंँग हेर्ने गर्छु। करिब ६ महिनाभन्दा बढी समयदेखि यो कार्य भैरहेको छ। यति नै समयमा दुबईजस्तो सहरमा १ खर्ब रुपियाँ लागतको एयरपोर्ट निर्माण भैसकेको हुन्थ्यो। पत्रिकामा पढ्छांै– बाहिरी रिङरोडको निम्ति १० करोड रुपियाँ विनियोजन भएको छ। ‘हात्तीको मुखमा जिरा’ भनेजस्तो लाग्छ। यस्तो तरिकाले हामीले कसरी विकास गर्न सकौंला?

उँभो लाग्ने सोच
एक वर्ष नै नटिक्ने सरकारहरूले हामीलाई साह्रै संकुचित सोचमा डुबाए। राजनीतिक अस्थिरताले हाम्रो आर्थिक स्थिति धेरै अस्थिर हुनपुग्यो। जग हाल्ने मन्त्रीले कहिल्यै आयोजना सम्पन्न गरेर उद्घाटन गर्न पाएन। भन्न त नमिल्ला, कारण पत्रिकाको राशिफलजस्तै ट्वाक्क त्यही मन्त्री केही सरकारहरू पछि फेरि त्यही पदमा आउन पनि सक्छन्। हामी हाम्रो आफ्नै समस्यामा होमिन रमायौं र साँघुरिँदै गरेका विचारधाराले हामीले अन्य मुलुकमा के हुँदैछ भनी वास्ता गर्न छाड्यौं।

हामी नेपाली दीर्घकालीन सोच्ने नभएकोले धेरै कष्ट भोगेको हामी विश्वास गर्न चाहँदैनौं। खोला बढेर घर लान्छ भनी थाहा हुँदाहुँदै हामी बालुवामा जग हालेर घर बनाउँछौं। दुर्घटना हुने सम्भावना हुँदाहुँदै ट्रक र बसमा टन्न लोड राखेर कुदाउँछांै। हिलोमा पिच गरे उप्किन्छ भनी थाहा हुँदाहुँदै हिलो बाटोमा पिच हाल्छौं। हामी दीर्घकालीन सोच हुनुपर्दैन भन्नेमा विश्वास राख्नेहरू हौं भन्न नमिल्ने कुरै छैन। त्यसर्थ सोच परिवर्तनको खाँचो छ। संसारमा धेरै मुलुकले अल्पसमयमा काँचुली फेरेका नमुनाहरू छन्। हामीले राम्रा परिवर्तन अनुशरण गर्न सक्नुपथ्र्यो। कोरियाको अनुशरण गर्ने हो भने उत्तर होइन,

दक्षिण कोरियाको अनुशरण गर्नुपर्‍यो। हाम्रा अल्पकालीन सोचाइले गर्दा नेपाललाई उत्तर कोरियाको दिशातर्फ धकेलिरहेको छ।

दीर्घकालीन सोच राखी नेपाललाई सन् २०३० मा एउटा मध्य आय भएको मुलुक बनाउने प्रण गर्न सकिन्छ। अबको १४ वर्षमा नेपालको जनसंख्या ३.६ करोडजति भैसक्छ। त्यस समय २,५०० डलरको सरदर प्रतिव्यक्ति आयले १ खर्ब डलर अर्थात् अहिलेको सटहीको हिसाबमा १०० खर्ब रुपियाँ हुनसक्छ। त्यसको निम्ति वर्षेनि ८ देखि १० प्रतिशत अर्थिक वृद्धिको आवश्यकता हुन्छ। अफ्रिकी मुलुक इथियोपिया १० वर्षमा आफ्नो जीडीपी ४ गुणाले बढाउन सफल भयो। यसर्थ यो वृद्धिदर हासिल गर्न सकिने लक्ष्य हो।

विदेशी लगानी आवश्यक
यो प्रकारको आर्थिक वृद्धिलाई थेग्न प्रचुर मात्रामा लगानी हुनुपर्छ। वर्षेनि ८ देखि १० अर्ब डलर अर्थात् ८०० अर्बदेखि १ खर्ब नेपाली रुपियाँको लगानी चाहिन्छ। नेपालमा लगानीको अभाव छ। तानतुन गरेर नेपालको आन्तरिक स्रोतहरूबाट यसको चार भागमा एक भाग पुरा होला, तर बाँकी लगानीको निम्ति विदेशी लगानीबाहेक कुनै विकल्प छैन। संसारभरि गत २० देखि २५ वर्षको बीच राम्रो आर्थिक विकास भएका मुलुकहरूको सिकाइबाट विदेशी लगानी नै उँभो लगाउने टेवाको रूपमा प्रस्तुत भएको पाइन्छ।

विदेशी लगानीप्रति हामी धेरैको विचार नकारात्मक छ। राष्ट्रियता र स्वदेशीको नाममा हामीलाई कम गुणस्तरमा महँगो सामान किन्ने र थोत्रो सेवाको निम्ति धेरै पैसा दिने जालबाट उम्किन गाह्रो बनाइदियो। हामी १२–१८ घन्टा अन्धकारमा बस्न तयार हुन्छौं। तर जलविद्युतमा विदेशी लगानीको विरोध गर्छौं। विमानस्थलमा पिनास नै उडाउने खाले ट्वाइलेटको दुर्गन्ध हामी सहन तयार छौं। तर विदेशी लगानीमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणको धुवाँधार विरोध गर्छौं। वर्षेनि विदेशमा पढ्न अर्बाैं विदेशी मुद्रा विद्यार्थीसँंग बाहिरिन्छ। तर हामी विदेशी लगानीमा अन्तर्राष्ट्रिय स्तरको विदेशमा भन्दा सस्तोमा शिक्षा दिने विश्वविद्यालय वा संस्थान हामीलाई मान्य छैन। बग्दै गएको नालीको पानी बोतलमा राखेर बेच्न हामीलाई ठिक छ। तर अन्तर्राष्ट्रिय गुणस्तर र मापन
अन्तर्गत उत्पादन हुने विदेशी लगानीका उद्योग हुँदैन।

हामी विदेशी ह्विस्की खाएर स्वदेशी लगानीको प्रवचन दिन्छौं। अन्तर्राष्ट्रिय मापदण्ड अन्तर्गत उत्पादित स्मार्ट फोन चलाएर विलासी गाडीमा चढेर विदेशी लगानीको विरुद्धमा भाषण गर्छौं। सायद संरक्षित बजारहरूमा मात्र फुर्ती लगाउने नेपालको सिन्डिकेटतन्त्रमुखी निजी क्षेत्रले यसमा थप समस्या उत्पन्न गरेको छ। अन्तर्राष्ट्रिय लगानी र व्यवस्थापनसँंग प्रतिस्पर्धा गरेर आफैं नेपालबाहिर कारोबार गर्ने जमर्को गर्नु सट्टा, राजनीतिक संस्थाहरूको आडमा उद्योग, व्यापार गर्न रमाउँछौं। विदेश भनेपछि हुरुक्क हुने, छोराछोरी पनि विदेश नै पठाउनुपर्ने, तर आम नेपालीलाई विदेशी लगानी, प्रविधि र व्यवस्थापनबाट बञ्चित गर्ने सुनियोजित कपट निरन्तर गरिरहनु उचित होइन।

अन्य मुलुकले विदेशी लगानी आकर्षण गर्न केही कसर छोड्या छैन। नेपालभन्दा उदारीकरणमा पछि आएका कम्बोडिया र रुवान्डाजस्ता मुलुकले विदेशी लगानीको प्रतिस्पर्धामा अरुलाई उछिनेका छन्। इथियोपियाले विदेशी लगानीको माध्यमबाट कायापलट गर्ने महत्त्वाकांक्षी योजना बनाएको छ। श्रीलंका हामीभन्दा धेरै अगाडि छ र स्वर्णिम वाग्लेले भन्ने गरेजस्तो नेपालले सन् २०३० मा हासिल गर्ने २,५०० डलरको आय भनेको अहिलेको श्रीलंका बन्ने हो। आइभरिकोस्टजस्तो मुलुकले वर्षेनि ३ देखि ५ खर्ब डलरको लगानी भित्र्याउन संसारभरि दौडिराखेको छ।

के गर्ने त?
विदेशी लगानी आकर्षण गर्न के गर्नुपर्छ भन्ने कुराको रिपोर्टहरू धेरै छन्। कार्यान्वयन गर्नुपर्‍यो। कानुन, नियम र कार्यशैलीमा परिवर्तन त्यही बमोजिम गर्नुपर्‍यो। त्योभन्दा ठूलो मानसिकता र व्यवहारमा आमूल परिवर्तन आउनुपर्‍यो। भनिन्छ, सुतेको मान्छेलाई उठाउन सजिलो छ, तर सुतेको जस्तो गर्नेलाई उठाउन एकदम गाह्रो हुन्छ।

हामी २०४६ सालमा अलिक उकालो लागेर फेरि भिरबाट चिप्लियांै। २०६३ सालमा एकपटक आशा जागेको थियो, तर फुस्स भयो। अब फेरि एकपटक सन् २०३० को लक्ष्य राखेर उकालो लाग्ने मौका पाएका छौं। यसलाई खेर नफालौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *