June 30, 2016 Sujeev Shakya

विपाली गाथा

अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले गरेको बम विस्फोटमा परी नेपाली कामदारहरूको विभत्स हत्या भएपछि एकपटक पुन: विदेशी रोजगारको मुद्दाबारे बहस सुरु भएको छ । भूकम्प गएपछि एक तल्लामाथि नजानेहरू अब दस तल्लामा बस्न थालेझैं विदेशी रोजगारमाथि खतराको कुरा समयसँगै हराउनेछ र फेरि अर्को विभत्स घटना भएपछि पुन: विश्लेषकहरूको टिभी र सोसल मिडियामा भ्याइ—नभ्याई हुनेछ । किन नेपालीहरू देश छाड्छन् ? विदेशबाट नेपाल आएका प्यारेसुट विज्ञहरूले त नेपालको भविष्य नै अँध्यारो देखिसके । नेपालमा धेरै समस्या देखिसके । हामीले भने यसलाई कसरी हेर्ने ?

विदेशिने इतिहास
नेपालमा विदेशिने प्रथा अहिलेको होइन । अरनिकोले चीनमा सयौं कालिगढहरू लगेदेखि यो प्रथा रोकिएको छैन । हाम्रा पूर्वजहरू महिनौं लगाएर तिब्बतमा व्यापार गर्न पुगे । राणाशासन पश्चात धेरै नेपाली पूर्वी भारत, बर्मा र मलायामा पुगे । नेपालमा आफ्नो भूमि कहिल्यै नहुने, मात्र कृषक र मोही भएर बस्नुपर्ने अवस्था भएपछि ब्रिटिस साम्राज्यमा काम गर्न धेरै नेपाली मुग्लान छिरे । सुगौली सन्धिपछि बेलायती सेनामा लाहुरे हुन धेरै नेपाली गए । विश्वयुद्धताका नेपालीहरू युद्ध लड्न तँछाड—मछाड गरे । दुई विश्वयुद्धमा अढाई लाख नेपाली रणमैदानमा गए । ४० हजारभन्दा बढी मारिए, हजारौं घाइते भए । सायद जोखिम उठाउने प्रवृत्ति भएर होला, नेपालीहरू शान्ति सेना र अन्य सुरक्षा निकायमा काम गर्न विदेशिन छाडेनन् । भारतीय सेना होस् या सिंगापुर पुलिस, नेपालीहरू धेरै पाइन्छन् । नेपालीहरू संसारभरि फैलिएका छन् । युद्धले जोखिमपूर्ण घोषित दक्षिण सुडान होस् या इराक या कङ्गो नेपालीहरू जोखिमपूर्ण ठाउँमा जान हिचकिचाउँदैनन् । यसर्थ नेपालीहरूको यो विचार चाँडै परिवर्तन हुन्छ जस्तो लाग्दैन ।

पैसाको निम्ति मात्र होइन
नेपाल राम्ररी नबुझ्ने विज्ञहरू नेपालीहरू पैसाको लोभले विदेश जाने प्रतिवेदनमा लेख्छन् र नेपालमा नै रोजगारीका अवसरहरू भए नेपालमै बस्छन् भन्ने तर्क प्रस्तुत गर्छन् । तर अहिले नेपालमा राम्रो मेकानिक, बिजुली मिस्त्री, प्लम्बर, रेस्टुरेन्ट भान्से वा वेटर चाहियो भने पाइँदैन । नेपालमा विशेषगरी काठमाडौंमा तलब कतार र मलेसियामा भन्दा कम छैन । तर नेपालीहरू बाहिर जान चाहन्छन् । यात्राको क्रममा कुराकानी हुँदा विपालीहरूले धेरै कारणहरू देखाउँछन् । उनीहरू भन्छन् कि काठमाडौं होस् या दोहा, गाउँमा श्रीमती, मातापिता वा बच्चाहरूले त त्यसरी नै जिन्दगी गुजारा गर्नुपर्छ, तर उनीहरू आफ्नो जीवनमा नयाँ कुरा अनुभव गर्न सक्छन् । उनीहरू भन्छन्, ‘दाइ, जीवनमा जेट प्लेन चढ्ने मौका पाइयो, गगनचुम्बी अट्टालिकाहरू हेर्न पाइयो, मलहरूमा घुम्न पाइयो ।’ नेपालमा काम गरेर यी सब अनुभव गर्न नपाउने बताए तिनले । ‘ट्याक्क गरेपछि बत्ती बल्ने, धारा खोले पानी आउने, कहाँ पाउने नेपालमा ?’ भनी प्रतिप्रश्न गर्छन् । जतिको मुखबाट यस्तो सुनियो, उति पैसाकै कारण विदेशिएका होइनन् कि जस्तो लाग्न थाल्यो । यसले नयाँ परियोजनाहरू सोच्न बाध्य बनाउँछन् । सायद नेपालमा पनि पानी, बिजुली लगायतका सुविधासम्पन्न परियोजनाहरूमा यिनीहरूलाई काम दिएर, कमाएको पैसाले जेट प्लेनमा चढी परिवारलाई घुमाउन सक्ने बनाउन के गर्नुपर्ला ?

सामाजिक परिवर्तन
एकातिर विपालीहरू दिनहुँ हजारौंको संख्यामा बाहिरिरहेका छन् भने पढेलेखेका ‘नलेज वर्कर’हरू पनि नेपाल छोड्ने प्रतिस्पर्धाको होडमा छन् । सामाजिक परिवर्तन तीव्र छ । छोरीहरूलाई गत दुई दशकमा छोरासमान शिक्षाका अवसरहरू प्रदान गरिए । तर लिबरल अथवा उदार शिक्षा दिएपछि पनि रुढिवादी रूपमा छोरीलाई जीवनयापन गर्न बाध्य पारियो । झन् शिक्षित काम गर्ने बुहारीहरूलाई कामको भारमा घरको भार थप्ने क्रम जारी रह्यो । अधिकांश घरमा यो कथा सुनिन्छ । यी सबैबाट मुक्त हुन विदेशिने रहर बढ्न थाल्यो । घरमा तनाव लिएर जिउनुभन्दा कम सीप र ओहदाको काम गर्न सम्झौता गर्नु तिनले उचित ठाने । यो ट्रेन्ड घटेको छैन र सायद समाजमा आमूल परिवर्तन नभइकन यो घट्ने पनि छैन ।

विपाली र एनआरएन
कामको निम्तिमात्र विदेशिने नेपाली ‘विपाली’ हुन् भने विदेशमा नै बसोबास गर्न जाने ‘एनआरएन’ । विपालीहरूको स्वप्न एनआरएनमा ‘ग्रयाजुएट’ हुने हो । खाडी र अफ्रिकामा कामदारको रूपमा गएकाले सानो रेस्टुरेन्ट चलाएर विस्तारै त्यो रेस्टुरेन्टको मालिक बन्छन् । त्यसपछि अन्य व्यापारिक मौकाको प्रतीक्षा गर्छन् । नयाँ मुलुकहरूमा पखेटा फैलाउन खोज्छन् ।

यदि नेपालीहरू बाहिरिने ट्रेन्ड छ भने किन उनीहरू धेरै सीप लिएर जाँदैनन् ? उनीहरू सर्टिफिकेटको थाकको सट्टा सर्टिफिकेटमा लेखिएको तालिम लिएर गए आर्थिक रूपमा कति फाइदा हुन्थ्यो ? सर्टिफिकेटको सट्टा सीप लिएर जानसके विपाली र तिनको परिवारलाई अझ धेरै फाइदा हुनसक्थ्यो । तसर्थ सीप सिकेर विदेश जाने कुरालाई प्राथमिकतामा राख्नु वेश हुन्छ ।

नेपालमा लगानी
धेरै मुलुकमा प्रवासीहरूको लगानीबाट नै आर्थिक क्रान्ति आएको छ । भारत र चीनमा पनि विदेशी लगानीकर्ताभन्दा पहिले प्रवासीहरूको लगानीले टेवा दिएको थियो । नेपालमा पनि थोरै भए पनि प्रवासी नेपालीहरूको लगानी पाइन्छ । नेपाली प्रवासीहरू पहिले धेरै संगठित थिए । तर प्रवासी संस्थामा नेपाली राजनीतिको रोग लाग्यो । अमेरिकामा नै हेरौं । प्रत्येक सहरमा पचासाैं संस्था कोही जिल्ला, कोही जातलाई लिएर र अहिले त नेपालको राजनीतिक दलहरूमा आधारित भएर खुलेका छन् ।

नेपालबाट नेता आए विमानस्थलमा चाकडी गर्न घुइँचो नै लाग्छ । सोसल मिडियामा नेपाली राजनीतिबारे टिकाटिप्पणी प्रशस्त हुने गरेको छ । यस्ता क्रियाकलापले आर्थिक रूपमा समृद्ध, तन्नेरी सन्तान हुनेहरू टाढिए । हाइस्कुल र कलेज पढ्नेहरू नेपाली र नेपाल भन्ने बित्तिकै मुख बिगार्न थालेका छन् । नेपालमा भविष्यमा भ्रमणमा आउने र लगानी गर्नसक्ने श्रेणीलाई हामीले टाढा गर्दैछौं । सायद प्रवासी संस्थाहरूको अगुवाइ गरिराखेका अग्रजहरूले गम्भीर रूपमा यसको समाधानतर्फ सोच्नुपर्ने बेला भएको छ ।

नेपालमा लगानी गर्न नेपाल नबुझेकोलाई सम्झाउनभन्दा आफ्नै नेपालीलाई बुझाउन सजिलो होला । नेपालको आर्थिक भविष्य निर्माणमा यसलाई सबभन्दा ‘लो ह्याङ्गी फुट’को रूपमा हेर्नुपर्छ । यसो गर्नसके नयाँ—नयाँ कामका अवसरहरू प्राप्त भई जोखिम मोलेर अफगानिस्तान वा इराक गएर बन्द बाकसमा फर्कन नपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *